सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइ हुने : मन्त्री राई
Tuesday, July 19th, 2022, 8:47 pm
Kalpristha
मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिक प्रहरीको हातमा उपलब्ध गराउने र ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याउने बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले सातै प्रदेशमा स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ गर्ने व्यवस्था गरिने बताएका छन् । मंगलबार यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताएका हुन् ।
मन्त्री राईले समितिको प्रतिवेदन आएपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बीनीमा दुई र प्रदेश १ र मधेश प्रदेश लगायतका सबै प्रदेशमा एकएक स्थानमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने बताए । उनले सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइको मेसिन राखेर सम्बन्धित प्रदेशले नै लाइसेन्स छाप्नसक्ने व्यवस्था गर्ने बताए ।
राईले यो व्यवस्थाका लागि मन्त्रालयसँग पर्याप्त बजेट नभएको पनि बताए । उनले दुई, तीन वर्षदेखि आवेदन दिएर स्मार्ट ड्राइभिङ लाइसेन्स कुरेर बस्ने सबैलाई ड्राइभिङ अनुमतिपत्र परीक्षामा पास भएको दिन वा दोस्रो दिन नै स्मार्ट लाइसेन्स पाउने व्यवस्था गरिने बताए ।
मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिक प्रहरीको हातमा उपलब्ध गराउने र ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याउने बताए । उनले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै छपाई हुनसक्ने संकेत गरे ।
राई भन्छन्, ‘काम भइरहेको आउने बित्तिकै दुई वटा कुरा दुई वर्ष ३ वर्ष देखि ईड्राइभिङ लाइसेन्सको आवेदन दिने र ईड्राइभिङ लाइसेन्स कुर्ने विषयमा तत्कालै वा दोस्रो दिन भन्ने विषयमा निचोड निस्किसकेको छ । पैसा थोरै भए पनि गर्दैछौं । त्यसले स्मार्ट लाइसेन्सको समस्या तत्कालै समाधान हुन्छ । त्यो लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिकलाई उपलब्ध गराउने कार्यक्रम बनाएर कार्यान्वयनमा लैजान्छौं । ’