महेन्द्र पुस्तकालयले अमृत उत्सव मनाउँदै
Wednesday, July 20th, 2022, 11:53 am
Kalpristha
नेपालगन्जमा रहेकोे पश्चिम नेपालको सबैभन्दा पुरानो पुस्तकालय महेन्द्र पुस्तकालयले अमृत उत्सव (हिरक उत्सव) मनाउने तयारी गरेको छ । पुस्तकालयको ७५ वर्ष पुगेको अवसरमा भदौ ३ गते अमृत उत्सव मनाउन लागेको पुस्तकालय व्यवस्थापन तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताए ।
करिब साढे दुई दशकदेखि कार्यसमितिविहीन बनेको महेन्द्र पुस्तकालयमा गत चैत २९ गते पुस्तकालयको तदर्थ समिति गठन गरिएको थियो । जसमा १२ जना सदस्यसहितको तदर्थ समिति बनाइएको थियो । पुस्तकालयले असार ३२ गते बसेको साधारण सभाले पुस्तकालयको अमृत उत्सव मनाउने निर्णय गरेको हो । जसका लागि विभिन्न उप–समिति बनाएर काम अघि बढाइएको छ ।
तदर्थ समितिका सचिव सुदिप भट्टराईकाअनुसार अमृत उत्सवका लागि आर्थिक समिति, सभा संचालन समिति, प्रचारप्रसार समिति निर्माण गरिएको छ ।
पुस्तकालयले अमृत उत्सवको अवसरमा विभिन्न तहका ७५ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको सचिव भट्टराईले बताए । महेन्द्र पुस्तकालयलाई योगदान दिएका, साहित्यकार, समाजसेवीलगायतलाई सम्मान गरिने उनले बताए ।
त्यस्तै उत्सवको अवसरमा नेपालगन्जमा विद्यालयस्तरीय निवन्ध प्रतियोगिता पनि संचालन गरिने अध्यक्ष यादवले बताए । नेपालगन्जभित्र रहेको विद्यालयहरुमा महेन्द्र्र पुस्तकालयको प्रचारप्रसार गर्ने उद्देश्यले निवन्ध प्रतियोगिता आयोजना गरिने यादवले बताए ।
त्यसैगरी उत्सवको अवसरमा बहुभाषी कवी गोष्ठी आयोजना गरिने भएको छ । जसमा नेपालभरीका कवीहरुलाई आमन्त्रण गरिने पुस्तकालयले जनाएको छ । साथै महेन्द्र पुस्तकालयले ७५ वर्षको अवसरमा पुस्तकालयको स्मारिका पनि विमोचन गर्ने भएको छ । जसको प्रधान सम्पादकको रुपमा सनत रेग्मीले काम गरिरहेका छन् ।
भदौसम्म निर्वाचन गर्ने
लामो समय कार्यसमितिविहीन भएपछि पुस्तकालयको हरहिसाब दुरुस्त राख्न, पुस्तकालयको सदस्यता संख्या बढाउन, पुस्तकालयको बाँकी बक्यौता असुल गर्ने, विधान संशोधन गर्नका लागि तदर्थ समिति गठन गरिएको थियो । सो समितिले असार मसान्तभित्र नयाँकार्यसमिति गठन गर्ने जिम्मेवारी पनि पाएको थियो ।
तर विविध कारणले तदर्थ समितिले तोकिएको समयमा आफ्नो काम गर्न सकेन । जसका लागि असार ३२ गते शनिबार तदर्थ समितिलाई थप दुई महिनाको समय दिएको छ ।
तदर्थ समितिका अध्यक्ष यादव २०७९ भदौ महिनाभित्र पुस्तकालयको निर्वाचन गराउन तदर्थ समिति सक्षम रहेको बताउँछन् । यादवका अनुसार भदौमा अमृत उत्सव सम्पन्न लगतै निर्वाचनका लागि समितिले काम गर्नेछ ।
असारभित्र पुस्तकालयको निर्वाचन किन गराउन सकिएन भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामीहरुले चैत २९ गतेदेखि महेन्द्र पुस्कालयको जिम्मेवारी पाएको थियौं । हामीसँग असार ३२ गतेसम्मको समय थियो । यो बिचमा स्थानीय निर्वाचनले पनि केही असर गर्यो । अर्को महत्वपूर्ण कुरा मेरो भाई, कोषाध्यक्ष कृष्णादेवि पाण्डे ज्यूको श्रीमान र सचिव सुदिप भट्टराईको बुबा स्वर्गवास हुनु भयो । हिन्दू धर्मअनुसार १३ दिन त कृया मै बस्नु पर्छ । अझ सबैभन्दा ठूलो झमेला त, विगत २४/२५ वर्षदेखि अस्तव्यस्त रहेको महेन्द्र पुस्तकालयलाई ३ महिनामै व्यवस्थापन गर्न हामीलाई चुनौति पनि हो ।’
तदर्थ समितिले आफूले पाएको जिम्मेवारीमध्ये निर्वाचन बाहेक अन्य काम गर्न भने सफल भएको छ । समितिले पुस्तकालयको हरहिसाबको खोजी गरेर बाँकी बक्यौता असुल गरिरहेको छ । कोषाध्यक्ष पाण्डे पुस्तकालयले असार मसान्तसम्म उठाउनपर्ने धेरैजसो रकम उठाइसकेको बताउँछिन् ।
त्यस्तै समितिले महत्वपूर्ण काम विधान संशोधन पनि गरिसकेको छ ।