कोहलपुरमा ठेकेदारका कारण स्थानीयलाई सास्ती
Wednesday, July 20th, 2022, 12:06 pm
Kalpristha
समयमै विकासको आयोजना सम्पन्न नहुँदा स्थानीयलाई समस्या परेको छ । बाँकेको कोहलपुरमा ठेक्का पाएको निर्माण कम्पनीले लापरवाहीका कारण कोहलपुर–नेपालगन्ज सडकखण्डमा पर्ने त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्मको नाली निर्माणको काम पुरा हुन सकेको छैन । जसका कारण दैनिक स्थानीयले सास्थी भोग्दै आएका छन् । नाला समयमै निर्माण नहुँदा दैनिक दुर्घटनाको पनि जोखिम बढिरहेको छ ।
कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरेको थियो । तर निर्माण कम्पनीको लापरबाहीले करोडौ रुपैयाँको योजना समयमै पुरा हुन सकेन ।
नाला निर्माण अलपत्र हुँदा बच्चाहरु स्कुलबाट आउन जान, व्यापार/व्यवसाय गर्न र पानीको निकास नहुँदा डुबान हुने समस्या भोग्नु परेको स्थानीयवासी बताउँछन् । नाली निर्माणको काम ठेकेदारले बीचमै छोडेको ४ महिना भयो, त्यसैले विभिन्न किसिमका समस्या झेल्न पर्ने बाध्य भएको स्थानीयवासी रामु वली बताउँछन् । ‘नाली बनाउने भनेर ठेकेदार फलामका सरियाहरू ठड्याएर भागेका छन्,’ उनले भने, ‘ठड्याएको फलाममा परेर स्कुले बालबालिकालाई चोटपटक लागेको छ, एक जनाको त पेटमा चोट लाग्यो ।’ अब नाली समयमै नबने स्थानीयले त्यसको बिरोध गर्नु पर्ने अवस्था आएको वलीले कालपृष्ठ दैनिकलाई बताए ।
नालामा आफनो बच्चा लडेर घाइते भएपछि कोहलपुरकी स्थानीय जीवना थापाले आफ्नो बच्चाको उपचार गराउनु परेको थियो । उनले बच्चालाई नेपालगन्ज मेडिकल कलेजमा उपचार गर्न लगेकी थिइन् । थापाले भनिन, ‘पाँच हजार उपचार खर्च लाग्यो । पेटमा चोट लागेको थियो । तर फलामले चोट लागेका कारण सिरिन्जको प्रयोग भयो र अहिले औषधि प्रयोग भैरहेको छ ।’
नाला नजिकै पसल गरिरहेकी तारा रानाले पसलमा आउने ग्राहकलाई आवतजावतमा समस्या भएको बताइन । उनले भनिन, ‘पसलमा मानिसहरु आफनो आवश्यक सामान किन्न आउँछन । यहाँ किराना र नास्ता पसलसमेत छन् । नाली अलपत्र छाडिँदा त्यहाँ आउने ग्राहकलाई अप्ठ्यारो भएको छ ।’
.
अहिले फलामका सरियाहरू माथिबाट काठ फल्ला बिच्छाएर आवतजावत गर्ने गरेको उनी बताउँछिन् राना । अहिले त्यो अलपत्र नाली धराप बन्दै गएको छ । यसले चोटपटकको जोखिम थप बढाएको गुनासो गर्छन स्थानीय ।
पहिलो स्थानीय तहका प्रमुखहरुलाई समस्याको बारेमा अवगत गराउँदा पनि समस्या उस्तै रहेको बताउँछन स्थानीय श्यामसिंह ठकुरी । उनले भने,‘ नयाँ मेयरसँग पनि यो समस्याको बारेमा भनेका छौं । हामी डेलिकेशन जाँदा तुरुन्तै ठेकेदारहरुलाई फोन गरी काम सम्पन्न गर्नुहोला नत्र भने भुक्तानी हुँदैन । भन्नुभएको थियो । तर ठेकेदारले नाली निर्माण नगरी फरार भए ।’
ठकुरी भन्छन, ‘यो ठेक्का असार मसान्तसम्म निर्माण भैसक्नु पर्ने हो । असार मसान्त सकिए पनि अझै ५० प्रतिशत पनि काम भएको छैन ।’
ठकुरी भन्छन, ‘यो ठेक्का असार मसान्तसम्म निर्माण भैसक्नु पर्ने हो । असार मसान्त सकिए पनि अझै ५० प्रतिशत पनि काम भएको छैन ।’ यहाँका स्थानीयहरुले बिहान उठेदेखि राती नसुत्दा समेत यो समस्या भोगिरहेका ठकुरीले बताउँछन् ।
कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाहीको दायरामा ल्याउन लागेको बताए । उनले भने, ‘अबको केहि दिनमा हुने कार्यपालिकाको बैठकबाट सम्झौता अवधिमा काम सम्पन्न गरेका–नगरेकाको लिष्ट तयार हुँदैछ । सो विषयमा कार्यपालिकाबाट निर्णय भएबमोजिम कारवाही अगाडि बढाउँछौं ।’ आर्चायले भने, ‘त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्मको नालि निर्माणको काम अलपत्र भयो भनी त्यहाँका स्थानीयहरु गुनासो लिएर आउनुभएको थियो । उहाँहरुकै अगाडि निर्माण व्यवसायीलाई नै फोन गरी तुरुन्त काम सम्पन्न गर्न अनुरोध गरेको थिए । तर मान्नुभएन त्यसपछि भुक्तानी रोकेका छौं ।’
यस्तै निर्माण कार्य सम्पन्न नभएका सबै योजनाहरुको भुक्तानी नदिने भनी नगरप्रमुख आचार्यको आदेश अनुसार सो नाली पनि निर्माण कार्य सम्पन्न नभएकोले भुक्तानी रोकिएको नगरपालिकाका प्रमुख इन्जिनियर बालकृष्ण महतरा बताउँछन् ।
नाली निर्माणको काम २०७८ फागुन १७ गते मंगलबारदेखि नालीको काम सुरु भएको थियो भने ललितपुरको दिभा र यति जेभीसंग सम्झौता भएको थियो ।
.
नाला निर्माण योजना असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भनी सम्झौता भएको बताउँछन कोहलपुर नगरपालिकाका प्रमुख इन्जिनियर बालकृष्ण महतारा । उनका अनुसार एकैपटक पाँच वटा वडामा त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्म नाली निर्माण (१ किलो मिटर), हाइस्कुलदेखि बुद्धचोक जाने बाटो कालोपत्रे (१४ सय मिटर), राप्तीनगर र सुन्दरनगरमा सडक कालोपत्रे (७ सय ६० मिटर), सिद्धनगरमा कालोपत्रे (१ हजार ५ सय मिटर), त्रिवेणी मोड हुँदै दाङ्गपुरसम्म नाली (८ सय मिटर) र दुई कल्भट निर्माण गर्नका लागि ४ करोड ९७ लाखमा सम्झौता भएको थियो ।
प्रदेश सरकारबाट आएको बजेट फ्रिज भैसकेको छ । स्थानीय सरकारले क्रमागत बजेटमा पर्र्यो भने काम अगाडि बढ्छ नत्र भने काम अगाडि बढ्न समस्या हुने महतराले बताए । निर्माण ठेक्का पाएको ललितपुरको दिभा र यति जेभी कन्ट्रक्सनसँग समस्याको बारेमा कुराकानी गर्ने प्रयास गर्दा मोबाइलमा सम्पर्क हुन सकेन ।
कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले प्रदेश सरकार र स्थानीय सरकारको ५०/५० प्रतिशत लगानीमा ठेक्का भई काम सुरु भएको बताए । उनका अनुसार जति काम भयो त्यति नै भुुक्तानी भएको छ । सम्झौता रकमको कुल रकमबाट १ करोड ९८ लाख मात्र भुक्तानी भएको ढकालले बताए ।