खजुरामा देशभरकैं सर्वाधिक वर्षा भएको मापन
Wednesday, July 20th, 2022, 12:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ असार
बाँकेमा बुधबार देशभरमै सर्वाधिक वर्षा भएको मापन गरिएको छ । बुधबार विहानै देखि बाँके लगायतका जिल्लामा अत्याधिक वर्षा भएको छ ।
जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र बाँकेका अनुसार बुधबार बाँकेको खजुरामा देशभरकै सर्वाधिक वर्षा भएको छ ।
मौसम पुर्वानुमान शाखाका अनुसार खजुरा क्षेत्रमा बुधबार विहान ३ घण्टाको अवधिमा १५५ मिलिमिटर पानी परेको मापन गरिएको छ ।
जुन यस वर्ष देशभरमै परेको सबै भन्दा धेरै वर्षा भएको बताउँछन जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली ।
बाँके जिल्लाका केहि स्थानमा सामान्य डुवान भएपनि क्षति भएको विवरण नआएको ज्ञवालीले बताए । उनले भने, ‘नेपालगन्ज लगायतका केहि स्थानमा सामान्य डुवान भएको छ । तर धेरै क्षति भएको छैन । नदिको बहाव पनि सामान्य नै छ । मनसुन सक्रिय भएकोले सर्तक भने रहनु पर्ने अवस्था छ ।’
यसैगरी नेपालगन्जमा बुधबार विहान १ घण्टाको अवधिमा ८६ मिलिमिटर र कोहलपुरको ढकेरीमा ९६ मिलिमिटर पानी परेको मापन गरिएको सुचना अधिकृत ज्ञवालीले कालपृष्ठ न्युजडटकमलाई जानकारी गराए ।
मौसम पुर्वानुमान शाखाका अनुसार देशभर सामान्य बदली रही गण्डकी प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि भु–भागहरु र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ । बाँके, बर्दिया जिल्लाका केहि स्थानमा भारी वर्षा पनि भैरहेको हुनाले सतर्कता अपना मौसम विभागले सुचना दिएको छ ।
किसानलाई राहतः
बुधबार बिहानैदेखी वर्षात भएपछि बाँकेका किसानहरुलाई राहत मिलेको छ । बाँकेका अधिकाश किसानले साउनको पहिलो साता सम्म रोपाई सकेका छैन ।
यसअघिका वर्षहरुमा साउनको पहिलो साता सम्म बाँकेमा रोपाई सकिसकेको हुन्थ्यो । तर यसपटक भने कम वर्षात कारण करिब ४० प्रतिसत किसानले मात्र धान रोपाई गरेका थिए ।
बुधबार देखी बाँके लगायतका तराईका जिल्लामा मनसुन सक्रिय भएको मौसम पुर्वानुमान शाखाले जनाएको छ ।