प्रहरीलाई सिसिटिभि हस्तान्तरण
Wednesday, July 20th, 2022, 6:46 pm
Kalpristha
नेपालगन्जमा शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगन्ज उप-महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ ।
नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार हस्तान्तरण गरे ।
नेपालगन्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगन्ज उप-महानगरपालिकाले १६ वटा अत्याधुनिक सिसिटिभी खरिद गरी जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । सो अवसरमा नगर प्रमुख विष्टले शहरमा अपराध नियन्त्रणका लागि सिसिटिभी आवश्यक रहेको भन्दै यसलाई नियमित सञ्चालनका लागि उप-महानगरपालिकाबाट पनि नियमित सहयोग प्रदान गरिने बताए ।
नेपालगन्जका विभिन्न स्थानमा यसअघि ५४ वटा सिसिटिभी क्यामरा जडान भएकोमा नियमित मर्मतसम्भारको अभावमा हाल अधिकाँश सिसिटिभी क्यामरा काम नलाग्ने भईसकेका छन् ।
हस्तान्तरण गरिएका सिसिटिभी क्यामरा तत्कालै जडान गरिने भएको छ । हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपाने, व्यवसायी सञ्जय थापा लगायतको सहभागिता रहेको थियो ।