ज्येष्ठ नागरिकको हेरचाह नगरे जायजेथा स्थानीय तहको स्वामित्वमा
Wednesday, July 20th, 2022, 8:35 pm
Kalpristha
कालपृष्ठ डेस्क
अब ज्येष्ठ नागरिकलाई हेरचाह नगरे जायजेथा वा अंशभाग स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याउने सक्ने विधेयक पारित भएको छ । परिवारका सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरे त्यस्तो व्यक्तिको जायजेथा वा अंशभाग स्थानीय तहले स्वामित्वमा ल्याउन सक्ने गरी प्रतिनिधि सभाबाट ज्येष्ठ नागरिकसम्बन्धी ऐनको संशोधन विधेयक पारित भएको हो ।
‘स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेका वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याइ निज ज्येष्ठ नागरिकको हकहितका लागि परिचालन गर्नेछ’, पारित भएको विधेयकमा भनिएको छ ।
प्रतिनिधि सभाबाट पारित भएको विधेयकले ‘ज्येष्ठ नागरिकको नाममा रहेको चलअचल सम्पत्ति’ उनीहरूको पालनपोषण तथा हेरचाह गर्ने नातेदार वा हकवालालाई जिम्मा लगाउने अधिकार स्थानीय तहको न्यायिक समितिलाई दिएको छ । स्थानीय तहमा हाल नगरपालिकाको उपप्रमुख र गाउँपालिकाको उपाध्यक्षमा न्यायिक समिति बन्ने गरेका छन् ।
विधेयकले स्थानीय तहबाट निणर्य हुनुअघि वडाअध्यक्षले समेत ज्येष्ठ नागरिकका सन्तानलाई बाबु आमाको बैंक खातामा पैसा जम्मा गर्न निर्देशन दिन सक्ने अधिकार दिएको छ । रकम बाबु-आमासँगै बसेका वा कानूनबमोजिम भिन्न भैसकेका अवस्थामा समेत जम्मा गर्नुपर्ने प्रावधान विधेयकमा उल्लेख गरिएको छ ।
विधेयकमा भनिएको छ, ‘रकम जम्मा गरेको भौचर सम्बन्धित स्थानीय तह र कार्यरत निकायमा ३५ दिनभित्र जानकारी गराउनुपर्नेछ । वार्षिक रूपमा स्थानीय तहमा जम्मा गरेको रकमको विवरण पेस गर्नुपर्ने छ ।’
विधेयकले ज्येष्ठ नागरिक बाबु/आमाको खातामा पैसा जम्मा नगरे सन्तान कार्यरत रहेको कार्यालयको प्रमुखले समेत रकम जम्मा गर्न निर्देशन दिनसक्ने अधिकार दिएको छ ।
विधेयक पारित भएपछि स्थानीय तह र प्रदेश सरकारले ज्येष्ठ नागरिक हेरचाह केन्द्र सञ्चालनमा ल्याउनुपर्नेछ।
यो विधेयक राष्ट्रिय सभाबाट २०७५ फागुन २६ गते पारित भएको थियो । अब प्रतिनिधि सभाले पारित गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको अवस्थामा यो कानुन बन्नेछ ।
राष्ट्रिय सभाबाट संशोधन स्वीकृत भएर अघि बढेर राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यसले कानुनी हैसियत प्राप्त गर्नेछ ।