भलिबल संघको निर्वाचन भदौ २२ गते
Thursday, July 21st, 2022, 8:29 pm
Kalpristha
नेपाल भलिबल संघले नवौं केन्द्रीय साधारणसभा तथा कार्यसमिति निर्वाचन भदौ २२ गते हुने भएको छ । भक्तपुरमा बिहीबार भएको संघ कार्यसमितिको आठौं पूर्ण बैठकले काठमाडौंमा साधारणसभा गर्ने गरी मिति सार्वजनिक गरेको हो ।
कार्यसमितिका सबै सदस्यको एकमतमा साधारणसभा र निर्वाचनको मिति घोषणा गरिएको हो ।
भलिबल संघको अहिलेको कार्यसमितिको पदावधि २०७७ जेठमै सकिएको हो । कोरोना महामारी र नयाँ खेलकुद ऐनको अन्यौलताका कारण दुई वर्षसम्म निर्वाचन हुन सकेको थिएन ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा भएको व्यवस्थाअनुसार राष्ट्रिय खेल संघले संघीय संरचना लागू गरी केन्द्रीय निर्वाचन गर्न गत असार १७ गतेसम्मको समयसीमा पाएका थिए । सो समयमा निर्वाचन हुन नसक्दा त्यसपछिका निर्वाचनलाई कानूनी मान्यता दिन नेपाल ऐन संशोधन गर्नुपर्ने हुन्छ । राखेपले ऐन संशोधनका लागि मन्त्रालयमा पत्राचार गरेको बताएको छ । भदौ २२ सम्म ऐन संशोधन नभए भलिबलको निर्वाचन प्रभावित हुनसक्छ ।
२०७७ असारमा नयाँ ऐन जारी हुनुअघि नै नेपाल भलिबल संघले २०७४ मा विधान संशोधन गरी संघीय संरचना लागू गरिसकेको थियो । राखेपको निर्देशन र स्वीकृतिमा संघले गत असार १७ गतेअगाडि नै ७ प्रदेश र ७७ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । सोही आधारमा छानिएका प्रतिनिधिले केन्द्रीय निर्वाचनमा मतदान गर्नेछन् ।
भलिबल संघको निर्वाचनमा अहिलेसम्म वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
भलिबल संघमा ३९ जनाको पूर्ण कार्यसमिति रहने व्यवस्था छ । त्यसमध्ये २५ जना प्रत्यक्ष निर्वाचित भएर आउनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् । निर्वाचनमा १ सय ३६ जना मतदाता रहनेछन् । तर, यसपल्ट भने १३३ जनाले मात्र मतदान गर्न पाउनेछन् ।
भलिबल संघको केन्द्रीय निर्वाचनका लागि ७७ वटै जिल्लाबाट १–१ मताधिकार रहने व्यवस्था छ । सात प्रदेशबाट २–२ का दरले १४ मत हुनेछ । हालको केन्द्रीय कार्यसमितिबाट ३९, रेफ्री कमिसनबाट १ र राष्ट्रिय टिम (पुरुष र महिला)का कप्तान र तीन क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले) संघको निर्वाचनमा मताधिकार पाउनेछन् ।