स्वर्ण विजेतालाई २५ हजार
Saturday, July 23rd, 2022, 12:40 pm
Kalpristha
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
त्यस्तै टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले भने जनही १४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
राष्ट्रिय प्रतियोगिताको स्वर्ण पदक विजेता खेलाडीलाई नगदको व्यवस्था गरेपनि रजत र कास्य पदकको विषयमा कुनै निर्णय भएको छैन । पछिल्लो निर्णय अनुसार स्वर्ण पदक विजेता खेलाडीले मात्र नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक स्वर्ण पदक विजेता खेलाडीको आधारमा उपाधिको छिनोफानो हुनेछ । सर्वाधिक स्वर्ण पदक जित्ने टिमलाई १० लाख रुपैयाँ बराबरको आकर्षक ट्रफी प्रदान गरिने राखेपले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म चल्ने छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र एक एनआरएनएको टिम गरि ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । कुल ३६ खेलमा सहभागी टिमका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजक युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
प्रतियोगितामा करिब ७ हजार खेलाडी, १२ सय प्रशिक्षक र हजार जना निर्णायक सहभागी हुने अपेक्षा गरिएको छ ।