समावेशी उपाध्यक्षसहित ३ सचिव निर्विरोध निर्वाचित
Saturday, July 23rd, 2022, 7:22 pm
Kalpristha
हेटौंडामा जारी नेपाल प्रेस युनियनको नवौं महाधिवेशमा समावेशी उापध्यक्ष, तीन सचिव र २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम निर्विरोध निर्वाचित भए । खस आर्य महिला केन्द्रीय सदस्यमा बालिका सिवाकोटी र जेविका कार्की, थारुतर्फ लक्ष्मीमान थारु, थारु महिला सदस्यमा अञ्जना थारु, मधेशी महिलामा सुधा देव पनि निर्विरोध भए ।
त्यस्तै आदिवासी जनजातितर्फ छविलाल माल, निमा लामा र सुवासकुमार सुनुवार, आदिवासी महिलातर्फ रिता मगर, दलित महिलातर्फ फूलमाया सुनार, लैंगिक अल्पसंख्यकमा नारद कोहार, अपाङ्गता कोटामा कौरव खत्री चयन भएका छन् ।
बागमती प्रदेशबाट महिलातर्फ आत्मा गुरागाईं र रमा लुइँटेल, गण्डकीबाट कृष्णकुमारी ढकाल र मायाकुमारी अधिकारी, सुदूरपश्चिमबाट जमुना न्यूरे र निर्मला भट्ट, काठमाडौं उपत्यकाबाट तेजना पण्डित पनि निर्विरोध चयन भएका छन् ।
त्यसैगरी अध्यक्षसहित अन्य पदका लागि भने शनिबार मतदान सम्पन्न भई सकेको छ भने मत गणना सुरु भई सकेको छ ।
अध्यक्षका लागि अनिता विन्दु, शिव लम्साल र भुवन भट्टबीच प्रतिस्पर्धा भएको छ । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र दिलीप पौडेलले उम्मेदवारी दिएका छन् ।
शुक्रबारबाट सुरु भएको नवौं महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरे थिए । उद्घाटन गर्दै देउवाले निकट भविष्यमा हुन लागेको चुनाव स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारलाई अनुरोध गरेका छन् । उनले सरकार छिट्टै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारीमा रहेको बताए ।
हरेक परिवर्तनमा प्रेसले महत्वपूणर् भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले कोरोनाकालमा नेपालको सञ्चार क्षेत्रले निभाएको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा कांग्रेस उपसभापति पुणर्बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा, सह-महामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’ र जीवन परियार, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, कांग्रेस बाग्मती प्रदेश सभापति ईन्द्र बानिया लगायतले सम्बोधन गरे ।
झन्डै ८ वर्ष पछि आयोजित प्रेस युनियनको महाधिवेशनमा १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछन् ।