कल्याण पन्तका तीन लघुकथा
Saturday, July 30th, 2022, 11:40 am
Kalpristha
छोरा !
हेर्दाहेर्दा तिलकराम अबिरले राताम्मै भए र धेरैको बधाई खाए ।
केही महिनामै भव्य अन्नप्राशन भयो । बुढेस कालको छोराको भोज ऐतिहासिक थियो ।
‘बाबु ! डाक्टर बन्ने कि इञ्जिनियर ?’ मुखको चोसो पसार्दै तिलकराम बच्चासँग खेले ।
ऊ १३ महिनामै तोते बोल्न थाल्यो ।
परिवारमा छुट्टै आनन्द । उसको चालढाल भगवान कृष्णजस्तै । त्यसैले उसको नामै कृष्णप्रसाद राखियो ।
चार कक्षा पुगेकै थिएन्, ल्यापटप किनियो, मोबाइल दिइयो । छोराको हातमा प्रविधि देखेर बाबुआमै मख्ख ।
उसले शानदारपूर्वक १२ पास ग¥यो । फेरि घरमा खुसी भित्रियो । उसले डाक्टरी विषय रोज्यो ।
बेलुकी आमाबाले सल्लाह गरे । केही दिनमै खेत बेचियो, पढ्न विदेश पठाइयो र महिना नबित्दै फेरि लैनो भैंसी बेचियो । अन्तिम सेमेष्टरमा अझ ऋणसमेत काढें ।
पाँच वर्षको अध्ययन । जेनतेन सिद्धियो ।
लगत्तै छोराले सहरमै नोकरी पाएछ । परिवारमा फेरि हर्ष छायो ।
छ महिनापछि ।
बेलुकी बाउआमाको घर सल्लाह भो, ‘लक्का जवान छोरो कमाउने भैहाल्यो, हाम्रो गल्दै गएको शरीर छ, त्यसैले बाबुको घरजममा किन ढिला गर्ने ?’
‘त्यसो भए छोरासितै कुरा गरेर आउनुस्न त ।’ श्रीमतीले खुसी पोखिन् ।
भोलिपल्ट उनी डिब्बाभरि घिऊ, दालबेसार पोका पारेर सहरतिर लागे ।
बेलुकी पिताले कुरो उप्काए, ‘बाबु ! घराँ डाक्टर पढेकी केटी दिन आका छन्, अब माघ पो किन पर्खर्ने ?’
छोराले भने, ‘बुबा ! दुई महिना अघि नै मेरो लभ म्यारिज भों, अन्तर्जातीय भएकोले मैले कसैलाई खबर गरिन ।’
कोरोना !
कृष्ण रामको सुरक्षात्मक होशियारी एकदमै कडा । डबल मास्क, स्यानिटाइजर, पञ्जा आदि उनको साथमा कहिल्यै टुटेन ।
बजार जाँदासमेत उनी १० हात पर बस्थें । फिर्ता आएको पैसामा स्यानिटाइजर दलेर, घाममा सुकाएर मात्र गोजीमा हाल्ने उनको बानी थियो ।
हिजो उनको घर सुनसान थियो । बिहानै पटकपटक फोन गर्दा पनि उठेन । भोलिपल्ट दिउँसै उनका बत्ती बलिरहेको थिए । शिवरामले गेट ढक्ढक्याए । कुनै जवाफ आएन ।
उनी जबरजस्त भित्र पसे । कृष्णराम भरेंग मुनि ढलेका रहेछन् ।
अनायास उनकहाँ भीड लाग्यो । उनलाई मुस्किलले एक वैद्यले छोए । अन्तमा उनलाई अस्पताल पु¥याइयो तर त्यस रातभन्दा उता उनी कटेनन् ।
भोलिपल्टै शवलाई सेनाले नियन्त्रणमा लियो ।
‘कोरोना लागेर त शत्रु पनि नमरुँन ।’ बाहिर सुनिदैं थियो । गाउँको नामसमेत जोडेर अनेकौं विशेषण सुनिए ।
मृत्युको हल्लीखल्ली अनलाइन, पत्रपत्रिका केही बाँकी रहेनन् ।
तीन दिनपछि उनीसित निरन्तर सम्पर्क भइराख्ने विदेशमा रहेकी संगीताले भनिन्, ‘यही हप्तादेखि उहाँले हाइ डोज प्रेसरको औषधि सेवन गरिराख्नु भकोथ्यो ।’
हुस्सू
उनले दराजभित्र हेरे, ओछ्यानमा हेरे, वल्लोपल्लो कोठातिर हेरे तर कतै पनि घडी फेला परेन । हरिकृष्णले सम्झने कोसिस गरे र पटकपटक टेबलको घर्रा खोले ।
खोज्दाखोज्दा आजित भएपछि श्रीमती र छोरालाई हराएको ठाउँ देखाउँदै भने, ‘नुहाउँदा यहीं राखेको थिएँ, अहिले छैन !’
उनलाई मिटिङमा जान हतार भइरहेको थियो । उनी यत्तिकै त्यतैतिर लागे ।
‘तीन वर्षदेखि ब्याट्री पनि नफेरेको, असाध्यै राम्रो थियो, अहिले बुच्चै देखियो ।’
उनी नीलडाम परेको नाडी हेरेर चुकचुकाए । उनले बिहान केदार, बुद्धि, हर्कलाल आफ्नो कोठामा आएको याद गरे । उनीहरु पनि त्यही मिटिङमा आउँदैं थिए ।
हरिकृष्णको मनमा नानाभाँति कुरो खेल्दै थियो, अचानक उनीहरुसितै झ्वास्स भेट भो । यता केदारको हातमा त्यस्तै घडी देखियो । अनायास हरिकृष्णको ढुकढुकी बढ्न थाल्यो ।
‘लुछि हालूँ कि नकराइकन बसौं !’ उनी असमञ्जसमा परे ।
उनले बुद्धि, हर्कलाललाई समेत चोरैचोर देख्न थाले र मिटिङभर केदारकै देब्रे हात झल्झली सम्झिरहे ।
घाम नडुब्दै उनी तनावमै घर पुगे । हत्पत्त श्रीमतीलाई केही भन्न खोज्दै थिए, अर्धाङ्गिनीले हातमा तेस्र्याउँदै भनिन्, ‘यी लिनुस घडी, ढोकाको कोशमा रहेछ ।’
राइनास, लमजुङ