निर्वाचन खर्च विवरण बुझाउन अटेरी गर्दै उम्मेदवार
Thursday, August 4th, 2022, 11:54 am
Kalpristha
निर्वाचन निर्देशिका अनुसार निर्वाचन प्रचार प्रसार खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने दल वा उम्मेदवारलाई आयोगले निर्वाचन आयोग सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम जरिवाना गर्न सक्नेछ ।
सौरभ राना
स्थानीय तहको दोस्रो निर्वाचनमा बाँकेबाट दुइ हजार दुई सय ६१ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन सम्पन्न भएको तिन महिना बितिसक्यो । तर निर्वाचनको दौरानमा विभिन्न पदमा उम्मेदवार बनेका धेरैले निर्वाचनको आंचारसहिता पालना गरेका छैनन ।
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरेको विजेता, निर्वाचनमा भाग लिएका सबैले बिल भर्पाइसहित निर्वाचन खर्च सार्वजनिक गर्नु पर्छ । तर अधिकांश उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेको देखिएको छ ।
निर्वाचनमा भाग लिएका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा गएर आफनो निर्वाचन खर्च विवरण बुझाउनु पर्ने निर्देशिकामा स्पष्ट उल्लेख गरिएको छ । तर जिल्ला निर्वाचन कार्यालय बाँकेमा असार मसान्तसम्म ७४० जनाले मात्र खर्च विवरण बुझाएका छन् ।
निर्वाचन कार्यालय बाँकेका अनुसार साउन १६ गते सम्म १ सय ६१ जनाले विवरण बुझाए । निर्वाचन कार्यालयको तथ्याङक अनुसार एक हजार तिन सय ६० जना उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । यसरी खर्च विवरण नबुझाउनेमा निर्वाचित वडा अध्यक्षहरु पनि रहेका छन् ।
सबै भन्दा धेरै नेपालगन्ज उप–महानगरपालिका भित्रकै वडा अध्यक्ष छन् । नेपालगन्जका १२ वडा अध्यक्ष, राप्तीसोनारीका ६ जना, खजुरा गाउँपालिका, जानकी, डुडुवा र नरैनापुरबाट समानरुपमा २ जना वडा अध्यक्षले निर्वाचन खर्च विवरण नबुझाएको बताउँछन निर्वाचन कार्यालय बाँकेका कम्प्युटर शाखा प्रमुख एवम् सुचना अधिकारी युवराज पन्त । खर्च विवरण नबुझाउनेमा कोहलपुर र बैजनाथबाट समान १ वडा अध्यक्ष छन् ।
पन्त भन्छन,‘यो हामीले भन्ने विषय होइन । निर्वाचन निर्देशिकामा उल्लेख गरेको कुरा हो । यसमा उम्मेदवार भएका सबैले सचेत भएर आफनो निर्वाचन खर्च विवरण बुझाउनु पर्ने हो । तर बुझाउनेको संख्या निकैं कम छ ।’
निर्वाचन कार्यालयका अनुसार नेपालगन्जमा निर्वाचित वडा नम्बर १,२,३,६,७,८,९,१०,१७,१८, १९,२३ नम्बर वडा अध्यक्षले खर्च विवरण बुझाएका छैनन । नेपालगन्जपछि खर्च विवरण नबुझाउने जनप्रतिनिधिमा राप्तीसोनारी पर्छ ।
राप्तीसोनारीका १,२,३,६,८,९ नम्बरका वडा अध्यक्षले आफनो चुनावी खर्च बुझाउन गएका छैनन् । त्यसपछी खजुरा गाउँपालिका वडा नम्बर १, ८, जानकीबाट वडा नम्बर ४,६, डुडुवाबाट २,५ नरैनापुरबाट १,५ कोहलपुरबाट १३ र बैजनाथका वडा नम्बर २ अध्यक्षले खर्च विवरण नबुझाएको बताउँछन सुचना अधिकारी पन्त ।
निर्वाचन कार्यालय बाँके प्रमुख रमा पन्तका अनुसार निर्वाचनमा खर्च विवरण नबुझाउनेलाई निर्वाचन आयोगले जरिवाना गर्ने व्यवस्था समेत रहेको बताउँछिन । उनले भनिन,‘निर्वाचनलाई मितव्यायी र आर्थिक अनुशासनमा राख्नको लागि यो व्यवस्था गरिएको हो । तर धेरैले यसको पालना गर्नु भएको छैन । खर्च विवरण बुझाउने आउने क्रम जारी छ । तर धेरैले बुझाउनु भएको छैन ।’
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को निर्वाचन प्रचार प्रसार खर्च अन्तर्गत निर्वाचनमा दल वा उम्मेदवारले अनुसुची–७० बमोजिमको हद भन्दा बढी नहुने गरी खर्च गर्नु पर्ने उल्लेख छ । जस अनुसार दल, उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको सम्पुर्ण खर्चको विवरण नेपाल सरकारले स्वीकृत गरेको लेखा प्रणाली बमोजिम राख्नु पर्ने हुन्छ ।
उम्मेदवारले मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको मितिसम्मको खर्च विवरण निर्वाचन सकिएको ३० दिन भित्र निर्वाचन कार्यालयमा पेस गर्नु पर्ने हुन्छ । यसरी पेस गरिएको खर्च विवरण जिल्ला स्थित निर्वाचन कार्यालयले आयोगमा पठाउने गरेको छ ।
निर्वाचन निर्देशिका अनुसार निर्वाचन प्रचार प्रसार खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने दल वा उम्मेदवारलाई आयोगले निर्वाचन आयोग सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम जरिवाना गर्न सक्नेछ ।