घाँसे मैदानमा परिणत नेपालगन्जको रंगशाला
Thursday, August 4th, 2022, 8:09 pm
Kalpristha
बाँकेको नेपालगन्जमा रहेको नेपालगन्ज रंगशाला अहिले घाँसे मैदानमा परिणत भएको छ । लामो समयसम्म खेल संचालन नभएको कारण रंगशालामा रहेको फुटबल मैदानले आफूलाई घाँसे मैदानमा परिणत गरेको छ ।
रंगशालामा रहेको फुटबल मैदान बाहेक मैदानको उत्तर, पूर्व र पश्चिम क्षेत्रमा पनि घाँसले प्याराफिटलाई ओगटेको देख्न सकिन्छ । हाल मैदानमा ४ फिट उचाईसम्मको घाँस पलाएको देख्न सकिन्छ ।
कुनै पनि स्थानमा रंगशाला तथा खेल मैदान निर्माण गर्नु भनेको खेलाडी उत्पादन तथा भएका खेलाडीलाई प्रवद्र्धन गर्नु हो । तर नेपालगन्जको रंगशालामा भने खेलाडीलाई नै प्रतिवन्ध लगाइएको छ ।
जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीप जंगशाह खेलाडीको लागि बनाएको रंगशालामा खेलाडीलाई नै रोक लगाएको बताउँछन् । उनले भने, ‘राष्ट्रियस्तरका खेलाडी बाहेक अन्य खेलाडीलाई रंगशालामा रोक लगाएको छ । खेलाडी उत्पादन गर्नमा कठिनाइ भएको छ ।’ उनले राष्ट्रियस्तरका खेलाडीले खेल्ने रंगशालामा प्रशिक्षणको शिलशिलामा आउँने आम खेलाडीलाई रोक लगाएपछि खेलाडी उत्पादनमा कठिनाइ भएको बताए ।

….
जिल्ला खेलकुद विकास समिति बाँकेले बिहीबार पत्रकार सम्मेलन गरेर खेलाडीलाई प्रतिवन्धीत गरेको प्रति आपत्ति जनाएको छ । सम्मेलनमा अध्यक्ष शाहले भने, ‘अबको दिनमा खेलाडीहरुमा खेल प्रतिको चाहना अनुसार रंगशालाको गतिविधि हुनु पर्छ । आफ्नै घर नजिकै रंगशाला हुँदासमेत शारीरिक ब्यामको लागि फिल्ड खोज्दै हिँड्नु परेको खेलाडीहरुले बताउँने गरेका छन् ।’ खेल खेल्न र व्यायमको लागि इच्छा हुँदा हुँदै पनि रंगशालामा लगाइएको नियमले आम खेलाडीले प्रशिक्षण गर्न नसकेको अध्यक्ष शाहले बताए ।
रंगशालामा राष्ट्रियस्तरको खेलाडीलाई मात्र खेल्न दिने र आम खेलाडीलाई वास्ता नै नगर्दा खेलाडी बन्ने सपना बोकेर रंगशाला आउने गरेको आम खेलाडीहरु अवसरबाट वञ्चित भएको खेलाडीहरुले बताउछन् । आम खेलाडीहरुलाइ रंगशालामा रोक लगाएर खेलबाट वञ्चित नगराउँन अध्यक्ष शांहले आग्रह गरेका छन् ।

…
स्थानीयस्तरका खेलाडीले रंगशाला प्रयोग गर्दा रंगशाला बिग्रने भएको हुनाले स्थानीय खेलाडीलाई रंगशालामा खेल्न रोक लगाएको भन्ने खबर हामीलाई बारम्बार आएको शाहले बताए । स्थानीय खेलाडीलाई दिए रंगशाला पटक–पटक बनाउन पर्ने भएको हुनाले राष्ट्रियस्तरको खेलाडीलाई मात्र रंगशालामा खेल्न दिने गरेको अध्यक्ष शाहले बताए ।
शाह भन्छन्, ‘क्षेत्रिय खेलकुद विकास समितीको मातहतमा रहेका रंगशालाको संरचना लथालिङ्ग रहेको छ । क्षेत्रीय खेलकुदको मातहतमा रहेका संरचनालगायत खेलाडीले प्रशिक्षणबापत लिने शुल्कको समेत कुनै चासो दिइएको छैन ।’
त्यस्तै प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराई पनि नेपालगन्ज रंगशालामा रहेका भवन् तथा संरचनाको अवस्था प्रयोग हुन नसकेकाले घाँसे चौरमा परिणत भएको बताउँछन् । उनी जिल्लामा खेल प्रतियोगिता संचालनमा कमी भएका कारण रंगशालालाई प्रयोग गर्न नसकिएको बताउँछन् ।