ढाकामोहनका तीन लघुकथा
Saturday, August 6th, 2022, 1:10 pm
Kalpristha
हल्का झोला
बिहान पख सपना देख्दा देख्दै निद्राबाट ब्युझिन् उमा । हात मुख धोएर फ्रेस भएर चिया पिइरहँदा उनलाई भर्खरै देखेको सपनाले दिमाग घुमाईरहेको छ ।
समुन्द्रको किनार, फुको बालुवा माथि दौडदै उनकै उमेरकी साथी आएकी थिइन् सपनामा ।
वर्ण उनको भन्दा हल्का बढी कालो थियो । खुट्टा बालुवामा पुरिएको हुनाले जुत्ता थियो वा चप्पल थाहा भएन तर सर्ट, स्कर्ट र कपाल बाँधेको सेतो रिबन भने उनको विद्यालयको पोसाक जस्तै थियो ।
‘को होलिन उनी ? मैले कसलाई देखेँ आज सपनामा ?’ उनी घोरिन थालिन् ।
‘छोरी पढ्न बस न नानु अब त’ आमाले भन्नु भयो ।
‘हो त रुपेश सर दिनु भएको होमवर्क त बाँकी नै छ ।’ सोच्दै आफ्नो कोठामा पसिन् ।
यसपटक उमाको झोला निकै हल्का भएको छ । झोला खोलिन रुपेश सरले बोर्ड्मा लेखेको पाठ सारेर ल्याएको कपी निकालेर पढ्न् थालिन् ।
फेरि सपनाको याद आयो । सपनामा उनलाई भनेको ‘कागज नपाएर हामीहरुले परीक्षा दिन नपाए जस्तै तिमीहरुले पुस्तक नपाएर पढ्न पाएनौ है ?’ कुरा मनमा खेलिरह्यो ।
प्रश्नहरु
‘उठ्छु भनेरमात्र हुन्छ, पार्टीहरुले पत्याउनु परेन ?’
उ स्वतन्त्र रुपमा उठ्यो ।
‘उठेरमात्र हुन्छ र जित्न सक्नु परेन ?’
उ निर्वाचनमा निर्वाचित भएर आयो ।
‘जितेरमात्र के काम यहाँ काम गरेर देखाउन सक्नु परेन ?’
निर्वाचित भएको पनि एक वर्ष बितेछ । एक वर्षमा आम बासिन्दाले केही परिवर्तनको महसुस गरेको पनि देखियो ।
‘बल्ल एक वर्ष त भयो अझ चार वर्ष छैन ?’
पाँच वर्ष पूरा भएर पुन: निर्वाचनको घोषणा भयो । पाँच वर्षमा भएको विकास निर्माणका काम तथा अन्य क्रियाकलाप देखेर चारै तर्फबाट उसलाई निर्वाचनमा पुन: उठ्न् दवाव पर्न थाल्यो । अर्कोतर्फ भने प्रश्न निरन्तर आईरहेको थियो ।
‘एकपटक जितेर के फुर्ति लगाउनु दोहोर्याएर जित्न सक्नु परेन ?’
पार्टी प्रवेश
‘मेमसाब आज भान्जा र भान्जीबुहारी पहिलोपटक आउने भन्याछ्न् । अरु सब ठिक्क पार्याथेँ बरु यसो खादा लगाइदिनु पर्यो भन्या किन्न नै बिर्सेछु । भरे फर्कदा लैजानु पर्ला । चानचुन छ भने दिनु न मेमसाब ।
आलु तास्दै सर्मिलाले भनिन् ‘साहुनीले पुरानो कपडा राख्ने दराजबाट आठ दस वटा खादा निकाल्दै हेर त यीमध्य हुने कुनै छ भने पट्यार लैजाउ । किन खर्च गर्ने बेकारमा ।’
सर्मिलाले हेरिन सबै राम्रा रहेछ्न् । ‘मेरो समस्याको समाधान भै गो नि मेमसाब’, सर्मिलाले खुशी हुँदै भनिन् ।
घरका मालिकसाहेव घरमा प्रवेश गर्नु भयो र सोफामा बस्दै चिसो पानी माग्नु भयो ।
सर्मिलाको आँखा वहाँको गलामा रहेको नयाँ खादामा पर्यो ।
साहुनी नजिकै गएर सोधिन् ‘के भयो आज कताबाट हो ?
उनले जवाफ दिए ‘म त आज फेरि पुरानैमा फर्केँ ।’
स्थानीय चुनावको घोषणा पछि आजको कार्यक्रम उनको पाँचौ पार्टी प्रवेश कार्यक्रम थियो ।
पोखर, कास्की