आन्दोलनलाई तिब्रता दिँदै कर्मचारी
Tuesday, August 9th, 2022, 5:01 pm
Kalpristha
असमान रुपमा तलब वृद्धि गरेको भन्दै निजामती कर्मचारीहरूका सहायक चौथो, पाँचौ र छैठौंका कर्मचारीहरुले यातायात व्यवस्था कार्यालय नेपालगन्जमा आज कामकाज बन्द गरेका छन् ।
असमान रुपले तलब वृद्धि गरेका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा कर्मचारीले आन्दोलनलाई तिब्रता दिँदै यातायात कार्यालय नेपालगन्जका सहायक चौथो, पाँचौ र छैठौं तहका कर्मचारीले कामकाज बन्द गरेको यातायात व्यवस्था कार्यालय नेपालगन्जका सहायक पाँचौ रमेश रेग्मीले बताए ।
अर्थ मन्त्रालयले श्रावण १ गतेदेखि लागु हुने गरी अधिकृत भन्दा माथिका राजपत्रांकित कर्मचारीलाई २५ प्रतिशत र सो भन्दा मुनिका कर्मचारीलाई १५ प्रतिशत तलव बढाउने निर्णय गरेपछि देशव्यापी आन्दोलनका कार्यक्रम अनुसार कर्मचारी आन्दोलित भएर आज यातायात कार्यालय नेपालगन्जका सबै नायव सुब्बा र त्यो भन्दा मुनिका कर्मचारीहरुले कामकाज बन्द गर्नुपरेको रेग्मीले बताए ।
सहायक चौथो, पाँचौ र छैठौं तहका कर्मचारीलाई सरकारले विभेदपूर्ण तरिकाले गरेको हेपाह प्रबृत्तिका कारण आज सबै काम बन्द गर्नुपर्दा सेवाग्राहीलाई पर्न गएको असुबिधाप्रति दुःख समेत प्रकट गरेको रेग्मीले बताए ।
असमान तरिकाले तलव वृद्धि गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । आज देशैभरका छैठौं, पाचौं र सहायक चौथो पदका कर्मचारीहरु बिदामा बसेका छन् ।