कर्णालीमा पाठ्य पुस्तक अभाव
Thursday, August 11th, 2022, 12:19 pm
Kalpristha
कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव रहेको छ ।
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको हो ।
जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ८ को नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव देखिएको छ ।
जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यस वर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन् । कर्णालीमा आवश्यक करिव ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको उनले बताए ।
कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।
अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरुका अभिभावक आक्रोशित छन् ।
नयाँ पुस्तक नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गरिरहेको बताएका छन् ।
जनक शिक्षाले पहिलो चरणमा दुर्गम एवं हिमाली जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको छ ।
कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटमा माग अनुसार सबै पुस्तक पठाइएको छ ।