६ हजार ८ सयले दिए मताधिकारको लागि आवेदन
Friday, August 12th, 2022, 6:05 pm
Kalpristha
निर्वाचन कार्यालय बाँकेका अनुसार असार १ गतेदेखी नयाँ मतदाता नामावली आवेदन दिनेहरुको लागि फारम भर्न खुल्ला गरिएको थियो । असार १ गते देखी साउनको १९ गते सम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार ८ सय १७ जनाले फारम भरेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अघि बाँकेमा ६ हजार ८ सय १७ जनाले मतदाता नामावलीको लागि आवेदन दिएका छन् ।
निर्वाचन आयोग नेपालले निर्वाचन मिति घोषणा गरेको भोलीपल्टबाटैं मतदाता नामावलीको आवेदन दिने कार्य रोकिएको थियो ।
निर्वाचन कार्यालय बाँकेका अनुसार असार १ गतेदेखी नयाँ मतदाता नामावली आवेदन दिनेहरुको लागि फारम भर्न खुल्ला गरिएको थियो । असार १ गते देखी साउनको १९ गते सम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार ८ सय १७ जनाले फारम भरेका छन् । असार महिनामा ४ हजार ४ सय ४३ र साउन महिनाको १९ गते सम्म २ हजार ३ सय ७४ जनाले बाँकेका मतदाता नामावलीका लागि आवेदन दिएका थिए । बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन गरिएको थियो ।
निर्वाचन कार्यालय बाँके कम्प्युटर शाखा प्रमुख एवम् सुचना अधिकारी युवराज पन्तले प्राप्त भएका आवेदनलाई संकलन गरेर केन्द्रमा पठाउ
ने तयारी भैरहेको बताए । निवेदन दिएकाहरुको आवश्यक विवरण परिक्षण गरेर केन्द्रले मतदाता नामावलीको अन्तिम टुङ्गो लगाउने गर्छ ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट ३ लाख २९ हजार ४ सय ७३ जनाको मतदाता नामवली आयोगले सार्वजनिक गरेको थियो ।
निर्वाचन कार्यालय बाँके प्रमुख रमा पन्तका अनुसार आवेदन दिएका सबैले अहिले नै मतदाता नामावली पाउने निश्चित हुँदैन । कतिपयले १६ वर्षमा नागरिता पाउने वित्तिकै मतदाता नामावलीको फारम भरेका हुन्छन् । उनीहरुले १८ वर्ष पुगेपछि मात्र मतदान गर्ने अधिकार प्राप्त गर्ने गर्दछन् । जिल्ला प्रशासन कार्यालय निर्वाचन आयोगले राखेको मतदाता नामावली संकलन केन्द्रमा नयाँ नागरिकता बनाउन आएका अधिकाशंले आवेदन दिने गरेको पन्तले कालपृष्ठ दैनिकलाई बताइन ।
पन्तका अनुसार यसपटक देखि निर्वाचन आयोगले ‘कट अफ डेट’ अर्थात निर्वाचन हुने दिनको अघिल्लो दिन सम्मको मितिमा १८ वर्ष पुगेका मतदाता अधिकारी दिने निर्णय गरेको छ । जस अनुसार मंसिर ३ गते सम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मतदान गर्ने अधिकार प्राप्त गर्न सक्नेछन ।
दाबी विरोध कार्यक्रम भदौं १२ देखी
निर्वाचन आयोग नेपालले भदौं १२ देखी १९ गते सम्म मतदाता नामावलीमा दाबी विरोधको कार्यक्रम प्रत्येक जिल्लाको निर्वाचन कार्यालयमा संचालन गरिने बताएको छ ।
उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारको सदस्यको मृत्यु भएको भए घटान निवेदन दिने, एकैं वडाका दुई वा दुइ भन्दा बढि स्थलमा भएको अवस्थामा पायक पर्ने स्थलमा नाम सार्न निवेदन दिने लगायतका कार्यक्रमहरु रहेको निर्वाचन आयोगले बताएको छ ।
दाबी विरोध कार्यक्रम सकिएपछि आयोगले भदौंको ३१ गतेसम्म प्रतिनिधि सभा र प्रदेश सभाका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।
उम्मेदवारले सम्पक्ति विवरण बुझाउनन्
स्थानीय तहको दोस्रो निर्वाचनमा बाँकेबाट दुइ हजार दुई सय ६१ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन सम्पन्न भएको तिन महिना बितिसक्यो । तर निर्वाचनको दौराना विभिन्न पदमा उम्मेदवार बनेका धेरैले निर्वाचनको आंचारसहिता पालना गरेका छैनन ।
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरेको विजेता, निर्वाचनमा भाग लिएका सबैले बिल भर्पाइसहित निर्वाचन खर्च सार्वजनिक गर्नु पर्छ । तर अधिकांश उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेको देखिएको छ ।
निर्वाचनमा भाग लिएका उम्मेदवारले जिल्ल निर्वाचन कार्यालयमा गएर आफनो निर्वाचन खर्च विवरण बुझाउनु पर्ने निर्देशिकामा स्पष्ट उल्लेख गरिएको छ । तर जिल्ला निर्वाचन कार्यालय बाँकेमा असार मसान्त सम्म ७४० जनाले मात्र खर्च विवरण बुझाएका छन ।
निर्वाचन कार्यालय बाँकेका अनुसार साउन १६ गते सम्म १ सय ६१ जनाले विवरण बुझाए । निर्वाचन कार्यालयको तथ्याङ अनुसार एक हजार तिन सय ६० जना उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । यसरी खर्च विवरण नबुझाउनेमा निर्वाचित वडा अध्यक्षहरु पनि रहेका छन् ।
निर्वाचन कार्यालय बाँके प्रमुख रमा पन्तका अनुसार निर्वाचनमा खर्च विवरण नबुझाउनेलाई निर्वाचन आयोगले जरिमाना गर्ने व्यवस्था समेत रहेको बताउँछिन ।