एचआइभीभन्दा हेपाटाइटिसको बढी जोखिम
Sunday, August 14th, 2022, 6:32 pm
Kalpristha
एचआइभी शब्दले अझै पनि हाम्रो समाज तर्सिने गर्दछ । तर एचआइभीभन्दा हेपाटाइटिसको जोखिम रहेको बाँकेका स्वास्थ्यकर्मी एवम् सरोकारवालाले बताएका छन् ।
आइतबार चेन्ज नेपालले नेपालगन्जमा राखेको सरोकारवालासँगको बैठकमा सहभागीले समाजमा हेपाटाइटिसको जोखिमका बारेमा अनविज्ञता रहेको बताए ।
बैठकमा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख बसन्ती मल्लले एचआइभीले भन्दा हेपाटाइटिसले मृत्यु हुने गरेको बताइन् । उनले एचआइभीको नियमित परीक्षण हुने भएता पनि हेपाटाइटिसको परीक्षण हुने नगरेको बताइन् ।
दमयन्ति फाउण्डेसन नेपालकी अध्यक्ष इन्द्राकुमारी जिसीले एचआइभीको जोखिममा लागूऔषध प्रयोग कर्ता रहेको र उनीहरुमा एचआइभीको मात्र परीक्षण गरिने बताइन् । उनले एचआइभी संक्रमितलाई नियमित परीक्षण र उपचारको दायरामा ल्याइएता पनि हेपाटाइटिसको उपचारका लागि सरकार नै उदासिन देखिएको बताइन् ।
जिसीले विशेषत हेपाटाइटिस ‘बी’ भन्दा बढी हेपाटाइटिस ‘सी’ को जोखिम रहेको बताइन् ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत मानव नेपाली जिल्लामा हेपाटाइटिसका बिरामीको एकिन तथ्यांक पाउन नै मुस्किल पर्ने गरेको बताउँछन् ।
लागूऔषधविरुद्ध काम गर्ने रिकभरी नेपालका लुम्बिनी प्रदेश फोकल पर्सन प्रविन विसी एचआइभी संक्रमितलाई नियमित उपचार गरिने भएता पनि उनीहरुमा हेपाटाइटिसको परीक्षण र उपचार नगर्ने गरेको बताउँछन् ।
एचआइभी संक्रमितमध्ये धेरै जसो मृत्यु हेपाटाइटिसका कारण हुने गरेको बताउँछन् ।
बिसीका अनुसार हेपाटाइटिस ‘सी’ को उपचार खर्च पनि धेरै भएकाले बिरामीले धान्न नसक्ने र उनीहरुको उपचार नै नहुने गरेको छ ।