राप्ती करिडोर : देशकै तेस्रो ठुलो आयोजना
Tuesday, August 16th, 2022, 4:17 pm
Kalpristha
लिलाधर वली
दाङ, ३१ साउन
दाङको देउखुरीमा राप्ती करिडोर बन्ने भएको छ । राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोर बागमती र धोविखोला करिडोरपछिको देशकै तेस्रो ठुलो करिडोरका रुपमा बन्न लागेको हो ।
नेपाल सरकार शहरी विकास मन्त्रालय र एशियाली विकास बैंक (एडिबी)को संयुक्त लगानीमा करिडोर बन्न लागेको शहरी विकास मन्त्री मेटमणि चौधरीले बताए । लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यातामा आधारित नयाँ शहरको परिकल्पना गरेको छ ।
जसको बिस्तृत परियोजना प्रतिवेदन प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेर नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ शहरको परिकल्पना गरेको छ । सोही परियोजनालाई समेट्दै राप्ती कोरिडोर अघि बढ्ने मन्त्री चौधरीले बताए ।
यो करिडोर बनेपछि दाङ र बाँकेकाजनता लाभान्वित हुनेछन् । दाङको भालुवाङदेखि बाँकेको अगैयासम्म करिडोर बन्ने शहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार करिडोर राप्ती नदीको दुबैतर्फ बन्ने छ ।
नदीको उत्तरी अथवा राप्ती क्षेत्रमा ६७.५० किलोमिटर र दक्षिणी अथवा गढवा क्षेत्रमा ६८.३० किलोमिटर गरेर कुल १ सय ३५ किलोमिटर क्षेत्रमा कोरिडोर बन्ने शहरी विकास मन्त्रालयका महानिर्देशक श्रेष्ठले जानकारी दिएका हुन । करिडोर दुबै तर्फ २१ मिटर चौडाईको हुनेछ ।
राप्ती करिडोर किन ?
दाङको देउखुरी क्षेत्रमा ठूला सडकको कमी छैन । देउखुरी क्षेत्रबाटै भएर पूर्व–पश्चिम राजमार्ग छ । पूर्वपश्चिम राजमार्गको लक्षिण क्षेत्रबाट बाँकेसम्म हुलाकी राजमार्ग निर्माणाधिन अवस्थामा रहेको छ । हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको बीच क्षेत्रबाट राप्ती करिडोर बन्न लागेको हो ।
राप्ती करिडोर बन्नुको मुख्य फाइदा राप्ती नदीमा आउने बाढीले गर्ने कुटान, डुवानलाई दीर्घकालिन रुपमा समाधान गर्ने रहेको मन्त्री चौधरीको भनाई छ । ‘यो परियोजनाले राप्ती नदीको समस्यालाई सधैंका लागि समाधान गर्नेछ,’ उनले भने, ‘सयौँ विगाह जमिन उकास हुनेछ र जनता त्रासमा बच्नु पर्नेछैन ।’
त्यस्तै राप्ती करिडोरलाई पर्यटकीय रुपले पनि हेरिएको छ । खाली ठाउँमा हरियाली पार्कसहित नयाँ शहरसहितको बस्ती बसाल्ने योजना रहेको छ । ‘राप्ती नदी किनारको दुवैतर्फ सडक कालोपत्रेसहित खुला ठाउँमा हरियाली पार्क, नयाँ शहरसहितको बस्ती विकास लगायतको काम हुनेछ ।’ मन्त्रीले चौधरीले भने ।
यस करिडोरसँग चारवटा शहरको परिकल्पाना गरिएको छ । हाल रहेको पूर्वको भालुवाङसँगै त्यसको पश्चिम तर्फ क्रमश: गढवा, राजपुर र बाँकेकोअगैयामा नयाँ ठूला सहरको विकास गरिने शहरी विकास मन्त्रालयका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
राप्ती कोरिडोरको काम एडिबीले गर्नेछ भने यसको डिपिआर शहरी विकास मन्त्रालयले गरिरहेको छ । मन्त्री चौधरीले यो परियोजनाले राप्ती क्षेत्रका जनताको जीवन बदल्न भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘यसले भोलिका दिनमा ठुला व्यवस्थित शहर बनाउन सक्छौं,’ उनले भने ‘यो प्रदेशको राजधानी भएकाले विमानस्थल बनाउन पनि आयोजना अघि बढेको छ। ८७ विगाहा जमिन सिसहनियामा छ । त्यहाँ विमान स्थल बनाउन सकिन्छ ।’
राप्ती करिडोरको शिलान्यास
राप्ती नदीको दुबै तर्फ करिडोर बनाउने गरी सोमबार शिलान्यास गरिएको छ । राप्ती गाउँपालिका–१ पाखापानी इन्टेक नम्बर २ मा सहरी विकास मन्त्री चौधरीले करिडोरको शिलान्यास गर्दै छिट्टै निर्माणको काम शुरु हुने जानकारी दिएका छन् ।
उनले आफूले जनतासँग गरेर बाचाहरु मध्ये राप्ती करिडोर एक महत्वूर्ण बाचा एक रहेको भन्दै करिडोरले मूर्त रुप लिने बताए । सधै आफू मन्त्री, सांसद नहुने भन्दै अब आउने सांसद, मन्त्रीहरुले पनि करिडोर निर्माणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले देउखुरीबासीले यो कामलाई ऐतिहासिक दिनका रुपमा लिएको बताए । ‘बजेट सुनिश्चितता गरेर काम अघि बढ्ने देउखुरीबासीको अपेक्षा छ । प्रकृया अघि बढेकाले भोलिका दिनमा आर्थिक विकासमा टेवा पुग्नेछ,’ उनले भने ।