सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक कार्यालयको सक्रियता
Tuesday, August 16th, 2022, 4:23 pm
Kalpristha
आर्थिक वर्ष ०७८।०७९ मा सवारी कारबाहीबाट ट्राफिकले उठायोे १३ लाख ४३ हजार राजस्व
विष्णुप्रसाद देवकोटा
डोल्पा, ३१ साउन
हिमाली जिल्ला डोल्पामा सवारी दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक कार्यालयले आफ्नो सक्रियतालाई बढाएको छ । ट्राफिक कार्यालय डोल्पाले सवारी दुर्घटना न्यूनीकरणमा आफ्नो सक्रियता बढाएको हो । ०७५ माघ २८ मा जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरि अस्थाई ट्राफिक कार्यालय स्थापना भएमा ०७८ साउन १ गतेबाट डोल्पामा स्थाई ट्राफिक कार्यालय स्थापना भएर सवारी दुर्घटना न्यूनीकरणमा आफ्नो सक्रियता बढाउदै लगेको छ ।
जिल्ला ट्राफिक कार्यालय डोल्पाका अनुसार १० जनाको दरवन्दी रहेको जिल्ला ट्राफिक कार्यालयमा हाल १ जना हवलदार सहित ४ जना जवान गरेर ५ जना कार्यरत छन् । जिल्ला ट्राफिक कार्यालयका निमित्त इन्चार्ज प्रहरी हवलदार कृष्णप्रसाद मरासेनीका अनुसार आर्थिक वर्ष ०७८।०७९ मा सवारी कारवाहिबाट मात्र १३ लाख ४२ हजार ५०० रुपिंया राजस्व उठेको छ ।आर्थिक वर्ष ०७५।०७६ मा २ सय १९ ओटा ०७६।०७७ मा ७ सय २४ ओटा ०७७।७८ मा ९ सय ६९ ओटा सवारी कारवाही गरेको ट्राफिक कार्यालयले आर्थिक वर्ष ०७८।०७९ को साउन मसान्त सम्म १ हजार ४६९ ओटा सवारी कारवाहि गरिएको निमित्त इन्चार्ज मरासेनीले बताए ।
यसैगरी ट्राफिक कार्यालय स्थापना भएदेखि हाल सम्म जिल्लामा ८ ओटा सवारी दुर्घटना भएका छन् । विभिन्न समयमा भएका दुर्घटनामा परेर ६ पुरुष १ महिला र १ वालक गरेर ८ जनाको मृत्यु भएको छ ।त्यसै गरी दुर्घटनामा २५ पुरुष ५ महिला घाइते भएको ट्राफिक कार्यालयको रेकर्डमा उल्लेख छ ।
कागजपत्र नभएका ३ ओटा मोटरसाइकललाई नियन्त्रणमा लिएर ट्राफिक कार्यालयमा राखिएको पनि टा«««फिक इन्चार्ज मरासेनीले जानकारी दिए ।
रुकुम जिल्लाको छहरेवगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको कान्छिबजार सम्मको ७५ किलोमिटर सडक खण्डमा हाल ९ ओटा कालो प्लेट र १८ ओटा रातो प्लेटका गरी २७ ओटा जीपहरु संचालनमा छन् ।
त्यसैगरी त्रिपुराकोट दुनै सम्म १० १० ओटा जीप संचालन छन ।यसैगरी १५ ओटा ट्रयाक्टर संचालनमा रहेका छन् । नेपाली सेनाले ०७५ मंसिर ४ मा जाजरकोट डोल्पा सडकलाई निर्माण कार्य सम्पन्न गरेर ०७६ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

.
डोल्पा र रुकुम जिल्लाको सिमा क्षेत्र साङ्ले देखि सदरमुकाम दुनै सम्मको आन्तरिक सडक खण्ड मध्ये भेत्तीमा पर्ने बतासे डाँडा, जुफाल डाँगीवाडाको घुम्ती, साङ्लेभीर र सिउडेनी घुम्तीमा बढी दुर्घटना हुने गरेको छ । उच्च दुर्घटना स्थल भएपनि सडक विभागले जोखिम सडक खण्ड पहिचान नगरेर सडक जोखिम सुचना टाँस समेत नगरेकाले पनि सवारी चालकहरुलाई समस्या भएको ट्राफिक कार्यालयको भनाई छ ।
त्रिपुराकोट दुनै जुफाल र खदाङमा गरी ४ ओटा स्थानमा ट्राफिक संकेत चिन्ह तथा सुचना पार्टी राखिएको समेत कार्यालयले जनाएको छ । सडक सवारी दुर्घटना न्यूनीकरणको लागि जनचेतनामुलक कार्यक्रम स्कुल कार्यक्रम चालक सहचालक र पैदलयात्रीहरुलाई समेत ट्राफिक नियम सम्बन्धि प्रशिक्षण लगायतका ९२ ओटा विविध जनचेतनामुलक कार्यक्रम संचालन समेत गरिएको ट्राफिकले जनाएको छ ।
सवारी चेकजाँचलाई कडाई गरेपछि मदिरासेवन गरेर सवारी चलाउनेको संख्या घट्दै गएको सवारी साधनको आवश्यक कागजात समेत बोकेर सवारी चलाउनु पर्छ नत्र ट्राफिक कारवाहीमा परिन्छ भन्ने चेतनाको विकास भएकोले सवारी दुर्घटना न्यूनीकरण सुधारउन्मुख रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
ट्राफिक स्थापना नहुँसम्म गाडीभाडामा यात्रु र सवारीचालक बीच किचलो हुने गरेकोमा ट्राफिकले जीपभाडादर कायम गरेपछि भाडाकै लागि हुने गरेको झगडाको अन्त्य भएको छ ।
हिमाली जिल्ला डोल्पामा पछिल्लो समय सवारीको संख्या बढ्दै गएपनि रातदिनै ट्राफिक चेकजाँचलाई सक्रियताका साथ अगाडि बढाइएको पनि ट्राफिक ईन्चार्ज मरासेनीको भनाई छ ।रात्रीकालिन सवारी चेकजाँच गर्न सजिलो होस भनेर म्याजिक लाईट फ्लोरेन्स ज्याकेट समेतको ब्यवस्थाले जिल्ला ट्राफिक कार्यालय स्रोत साधनले सम्पन्न हुदै गएको छ ।