तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य
Tuesday, August 16th, 2022, 6:08 pm
Kalpristha
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो ।
चिनियाँ अर्थतन्त्र क्रमिक रूपमा घट्दै गइरहेकोले यसको असर ऊर्जाको मागमा पर्ने अपेक्षाले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) ९५ डलरमा कारोबार भइरहेको छ ।
गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १२३ डलरभन्दा धेरै थियो । त्यो बेलाको भाउभन्दा अहिले करिब २८ डलर कम भइसकेको छ । यसैअनुसार आइओसीले मंगलबार नेपाललाई नयाँ मूल्य पठाएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ ९० पैसा र डिजेलमा ४ रूपैयाँ ७५ पैसा घटाएर पठाएको छ ।
विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपाल आयल निगमलाई तीन पटकसम्म मूल्य घटाएर पठाइसकेको छ । पहिलो पटक असार ३२ गते आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो ।
त्यस्तै, दोस्रो पटक साउन १६ गते प्राप्त मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । यी दुवै पटक निगमले उपभोक्ताको लागि मूल्य घटाएको छैन । यो पटक पनि नेपाली बजारमा घटाउने बारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।
निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ’हाम्रो पहिलेको घाटा यथावत छ,’ प्रवक्ता उपाध्यायले भने, ’घटेको मूल्यअनुसार अहिले मूल्य समायोजन गर्न सक्ने अवस्था छैन ।’
उनका अनुसार हाल निगमले आइओसीलाई साढे १४ अर्ब भारू तिर्न बाँकी छ ।
भारतीय दूतावासले सरकारलाई पेट्रोलियम पदार्थको पैसा तिर्न ताकेता गरिरहेको निगमले बताएको छ ।
अहिले मूल्य घटेर आउँदा पनि मासिक ६५ करोड रूपैयाँ घाटा भएको निगमले जनाएको छ । एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिने निगमको भनाइ छ ।
साभार-सेतोपाटी