नेपालगन्ज र मन्त्री राईबीच सहकार्य
Tuesday, August 16th, 2022, 7:57 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले तत्काल गर्नुपर्ने विकास निर्माणका योजना लिएर साउन महिनामा तीनपटक राजधानी पुगेका छन् ।
नेपालगन्ज क्षेत्रबाट निर्वाचित सांसद मोहम्मद ईस्तियाक राई मन्त्री भएपछि उप-महानगरपालिकाको समन्वयमा विभिन्न विकास निर्माणका योजनाहरु कार्यान्वयनमा आउन थालेको नगर प्रमुख विष्टले बताए । नगर उपप्रमुख कमरुद्दीन राई समेत विकास निर्माणको माग लिएर सिंह दरबार पुगेका हुन् ।
नगर प्रमुख विष्टका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदौमा आकाशे पुल निर्माणका लागि टेण्डर आव्हान गरेको छ । कोहलपुरको त्रिभुवन माध्यामिक विद्यालय अगाडिसहित ५ स्थानमा १५ महिनाभित्र काम सम्पन्न गर्नेगरी मन्त्रालयले टेण्डर आव्हान गरेको हो ।
यसैगरी नगरको जमुनाहदेखि राँझा चोकसम्मको १०.८ किलोमिटरको सडक स्तरउन्नती गरी असफाल्ट कालोपत्रे निर्माणका लागि मन्त्रालयले टेण्डर आव्हान गरेको छ । सोही सडक खण्डको आसपासमा ट्राफिक तथा स्ट्रिट लाइट जडानका लागि समेत मन्त्रालयले टेण्डर आव्हान गरेको छ ।
नगर प्रमुख विष्टले उपमहानगरपालिकाको अनुरोध, आग्रह र समन्वयमा विभिन्न वडाहरुमा १५ किलोमिटर सडक तथा नाल निर्माण र अन्य सडक सुधार तथा स्तरोन्नतिका लागि टेण्डर आव्हान भएको बताए ।
नगर प्रमुख विष्टले जिल्लाबासी मन्त्री पाएपछि नेपालगन्जमा एकपछि अर्को गरी विकास निर्माणका योजना कार्यान्वयनमा आउन थालेको बताउँदै उपमहानगरपालिकासँगको समन्वय र सहकार्यमा मन्त्रालयले योजनाको कार्यान्वयन अघि बढाएको जानकारी दिए । विष्टले नेपालगन्जको विकासका लागि प्रधानमन्त्री शेरवहादुर देउवा सहित अन्य मन्त्रीहरु समक्ष समेत माग प्रस्तुत गरेको बताए ।
नगर उपप्रमुख कमरुद्दीन राईले थप केही दिनमै नगरभित्रका भित्री सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम सुरु हुने बताए । नयाँ सडक, अन्य योजनाहरुको आन्तरिक प्रक्रिया पूरा भईसकेका कारण केही दिनमै कार्यान्वयनमा जाने उपप्रमुख राईले बताए ।