हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी भएन
Wednesday, August 17th, 2022, 6:06 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाले हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी नभएको सरोकारवालाहरुले बताएका छन् । सरोकारवाला निकायको उपस्थितीमा बुधबार हात्तीपाइले तथा आम औषधि सेवनसम्बन्धि लैंगिक समानता तथा सामाजिक समावेशीकरण अध्ययन नतिजा सार्वजनिक कार्यक्रममा अभियान प्रभावकारी नभएको जनाइएको हो ।
कार्यक्रममा नगरबासीले अभियानमा साथ नदिएका कारण अभियान प्रभावकारी नभएको जनाइयो ।
कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राईले आम औषधि सेवन अभियानमा औषधि सेवन गर्नुपर्ने एकजना व्यक्ति पनि छुट्न नहुँने भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निरन्तर सकारात्मक सन्देश प्रवाह भएमा अभियान प्रभावकारी हुने बताए ।
ग्रामीण भन्दा सहरी क्षेत्रमा समस्या देखिएको भन्दै उनले अभियान गर्मी मौसममा नभई समय परिवर्तन गर्न सुझाव दिए ।
कार्यक्रम नेपालगन्ज उप-महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द्र, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले अभियान सरकारी तबरबाट मात्रै सफल नहुने भन्दै सामूहिक साथ र पहल गर्नुपर्नेमा जोड दिए ।
गत वर्ष संचालित कार्यक्रममा बाँकेमा ५० प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए । बाँकेमा १२ वर्षदेखि यो कार्यक्रम निरन्तर चलिरहेको छ ।
वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्या, कार्यपालिका सदस्य बशन्तकुमार कनौजिया, महिला स्वास्थ्य स्वयमसेविका नारायणी रुपाखेती, मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरी, अधिकारकर्मी बशन्त गौतमलगायतले आम नागरिकले निर्धक्क औषधि सेवन गर्ने वातावरण बनाउन सबै पक्षबीच नियमित सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।
अब नेपालगन्ज उप-महानगरपालिकाले हात्ती पाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई नगरबासीको साथ र सहयोगका लागि प्रभावकारी बनाउने भएको छ ।