अवैध नदीजन्य पदार्थ सरकारद्वारा नियन्त्रण
Thursday, August 18th, 2022, 4:24 pm
Kalpristha
देउखुरीको राप्ती नदीमा अवैध रुपमा थुपारिएको नदिजन्य पदार्थ स्थानीय सरकारद्वारा नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिकाले राप्ती नदीको छेउमा अवैध रूपमा थुपारेर राखेको नदिजन्य पदार्थलाई जफत गरेको हो ।
गाउँपालिकाले अवैध रुपमा राखेको नदीजन्य पदार्थका बारेमा पटक–पटक जानकारी, छलफल र सूचना दिँदा पनि कोही सम्पर्क नआएकोले क्रसर उद्योग नजिक र नदी किनारमा फेला परेको ढुङ्गा, बालुवा, मिस्कट लगाएतको पदार्थलाई पालिकाले नियन्त्रणमा लिन थालेको हो ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलको संयोजकत्वमा बनेको चोरी निकासी नियन्त्रण तथा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरूको नापजाँच समितिले गढवा गाउँपालिकाअन्तर्गत राप्ती नदी तथा खोलाहरूको किनार तथा गढवा गाउँपालिकाकाअन्तर्गत सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगको छेउछाउमा अवैधरूपमा संकलन गरी थुपारेर राखेको नदीजन्य पदार्थ उठाई सुरक्षित स्थानमा राख्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा राप्ती नदिका विभिन्न ठाउँमा अवैधरूपमा थुपारेर राखिएको नदिजन्य पदार्थ पालिकाले आफ्नो नियन्त्रणमा लिएको छ ।
गढवा गाउँपालिका–१ जेठानगाउँस्थित लक्ष्मी एग्रिगेट बालुवा प्रशोधन उद्योगको उत्तरतर्फ राप्ती नदीको किनारमा राप्ती नदी तटबन्ध भन्दा उत्तरतर्फ थुपारेर राखेको ढुङ्गा पालिकाले आफ्नो नियन्त्रणमा लिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष पोख्रेलका अनुसार अवैध रुपमा थुपारेर राखेको ५६.६ घनमिटर ढुङ्गा आफ्नो नियन्त्रणमा लिएको छ । ६ हजरा २ सय १७ दशमलव ५४ घनमिटर ढुङ्गाको नापजाँच गरिएको छ ।

….
अनुगमन टोलीमा गढवा गाउँपालिका प्रशासन प्रमुख पुनाराम शर्मा, गढवा गाउँपालिका–१ का अध्यक्ष बाबुराम अधिकारी, वडा नम्बर २ का अध्यक्ष भक्तु चौधरी, वडा नम्बर ३ का अध्यक्ष तुलसीराम अधिकारी, वडा नम्बर ४ का अध्यक्ष हरिभगत चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष लेखबहादुर थापा, वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगर, एक नम्बर वडा सदस्य देविलाल थारु कुमाल, चार नम्बर वडा सदस्य टुकमान कुंवर र अति उल्लाह मनिहार, गढवा गाउँपालिका इन्जिनियर विनय कुमार यादव, गढवा गाउँपालिकाको प्रेस संयोजक आलोक भावुक, सुरक्षा निकायका तर्फबाट रमेश कुम्हार, बिष्णुबहादुर कुमाल, राजकुमार लोध, कालु सिह धावक र रमेश चौधरी लगाएको टोलीले बुधवार अनुगमनमा खटिएको थियो ।
चोरी तस्करी तथा उत्खनन् रोक्ने कार्य निरन्तर चल्ने र कानुन सम्बत् नभए तुरुन्त कारबाही गरिने चोरी निकासी नियन्त्रण तथा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरूको नापजाँच समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिएका छन् ।