२५ वर्ष पछि राजनितिमा ‘कमब्याक’ गर्दै दिवाकर
Thursday, August 18th, 2022, 8:48 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, २ भदौं
दिवाकर खनाल नेपालगन्ज नगरका लागि नयाँ नाम होइन । जब नेपालगन्जमा चुनावी माहोला तात्छ । तब एउटा नामको जर्बजस्त चर्चा हुने गर्छ, त्यो हो दिवाकर खनाल । राजनिति पृष्ठभुमी त्यति धेरै बलियो नभएपनि सामाजिक छविका कारण नगरका धेरैले रुचाउने व्यक्ति हुन् दिवाकर । हिन्दु नारालाई आफनो मुख्य चुनावी एजेन्डा बनाउँदैं दिवाकर पुन: चुनावी मैदानमा आएका छन २५ वर्ष पछि । दिवाकरले २०५४ सालमा नेपालगन्ज नगरको मेयरको चुनाव प्रतिस्पर्धा गरेका थिए ।
शिवसेनाको दरियो साथ अनि हिन्दु नारालाई मुख्य एजेन्डा बनाएर चुनावमा प्रतिस्पर्धा गर्दा उनी उपविजेता बने । एमालेबाट चुनाव लडेका डा. धवल शमसेर विजेता र नेपाली कांग्रेसका सुरेन्द्र हमाल तेस्रो भए । त्यतिबेलाको चुनावमा राज्य सत्ताको दुरुपयोग गरेर आफुलाई हराएको आरोप लगाउँछन दिवाकर ।
उनी भन्छन,‘मलाई जनताले चुनाव जिताएका थिए । तर गुन्डागर्दी र शंक्तिको आडमा मलाई हराईएको थियो । चुनाव स्थलमा हाम्रा एजेन्ड नै बस्न नसक्ने अवस्थाको सृजना गरिएको थियो । म स्वयम लुकेर (अन्डरग्राउन्ड) बस्नु पर्ने अवस्था आएको थियो ।’
अब जीवनको अन्तिम चुनाव लड्दै गरेको बताउँदैं दिवाकरले हिन्दु राज्यलाई स्थापित गर्नको बाँके क्षेत्र नम्बर २ बाट संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
निर्वाचनमा जस्तो सुकै नतिजा आएपनि आफनो लक्ष्यलाई युवा पुस्तामाझ सुम्पिदैं चुनाव नलड्ने उनले बताए ।
खनाल भन्छन, ‘हाम्रो देशमा हिन्दुको बाहुल्यता छ । हिन्दु राज्य हुँदा देशमा बेतिथी र भ्रष्टाचार मौलाएको थिएन । देशमा गणतन्त्र, राजतन्त्र, लोकतन्त्र वा जुन सुकै तन्त्र आएपनि हिन्दु राज्य हुनु पर्नु पर्छ । हामीलाई अरु कुनै धर्म, जात, समुदायसँग कुनै गुनासो छैन । देशका अधिकाश जनताको चाहना पुरा हुनु पर्छ ।’
बिहिबार आफनो उम्मेदवारी घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा खनालले अमेरिकन नागरिकता त्याग्ने निर्णय गरेर चुनावमा होमिएको बताए । त्यसका लागि २४ दिन अघि आफुले अमेरिकन सरकारलाई ग्रिनकार्ड त्याग्ने बारेमा पत्राचार गरेको उनले जानकारी गराए ।
२०६१ साल तिर शसस्त्र जनयुद्धको समयमा उनलाई माओवादीका कार्यकर्ताले गोली प्रहार गरेका थिए । नेपालगन्ज धम्बोझी चांैक स्थित कृषि विकास बैंक अगाडी बेलासपुर जाने बाटोमा उनलाई गोली प्रहार गरिएको थियो । उनको शरीरमा ८ वटा गोली लागेका थिए । तत्कालैं उनलाई उपचारको लागि काठमाडौं लगियो । त्यसपछि थप उपचारको लागि उनी अमेरिका गए । १४ वर्ष अमेरिका बसेर उनी नेपालगन्ज फर्किएर धम्बोझीमा खनाल रोयल होटल संचालन गरे । ६४ वर्षीय खनालको राजनितिमा चासो भने नेपाली कांग्रेसबाट सुरु भएको थियो । कुनै बेला उनी नेपाली कांग्रेसको सक्रिय सदस्य थिए । तर पछि सक्रिय सदस्य त्यागेर हिन्दु नारा सहित शिवसेना नेपालमार्फत समाजमा सक्रिय भए ।
नेपालगन्ज नगरमा १ सय ५० वर्ष देखी आफनो पुस्ता बस्दै आएको बताउने खनालले कानुन विषयमा तत्कालिन समयमा डिएल गरेका छन् । १२ वर्ष वकालत पेशा गरेका खनालले १ वर्ष महेन्द्र बहुमुखी क्याम्पसमा अध्यायपन पनि गराएका थिए ।
दिवाकरसँगै हिन्दु नारासहित बाँके क्षेत्र नम्बर २ प्रदेश ‘क’ बाट प्रदेश सभामा राज कुमार रौनियारले उम्मेदवारी दिने घोषणा गरेका छन् । रौनियार नेपाल शिवसेनाका अध्यक्ष हुन । उम्मेदवारी घोषणा अघि उनले आफनो पदबाट राजिनामा दिएको नेपाल शिव सेनाका महासचिव मंगल जिएमले बताए ।
बिहिबार खनाल र रौनियारको उम्मेदवारी घोषणामा समर्थन जनाउँदैं नेपाल शिव सेना महासचिव जिएम, बाँके अध्यक्ष मदनराज शर्मा र नेपालगन्ज नगर अध्यक्ष सुनिल राज केसी लगायत हिन्दु धर्मका अगुवाहरु उपस्थित थिए ।
खनाल र रौनियारले चुनावमा कस्तो नजिता प्राप्त गर्छन, त्यो मंसिर ४ गतेको निर्वाचनले देखाउँनेछ । तर दिवाकर खनालको उम्मेदवारीले बाँके क्षेत्र नम्बर २ को चुनावी दौडमा नयाँ तरंग भने पैदा गरेको छ । त्यो तरंगले चुनावी समिकरणलाई थप रोमाञ्चक र अप्रत्याशित बनाउने पक्का छ । जसको सिधा असर पर्ने देखिन्छ परम्परागत रुपमा बलिया मानिएका प्रमुख ठुला दलका उम्मेदवारलाई ।