बाँके बागेश्वरीले गर्यो स्वागत र विदाई कार्यक्रम
Thursday, August 18th, 2022, 8:53 pm
Kalpristha
बाँके बागेश्वरी क्याम्पस नेपालगन्जमा अध्ययन गर्न आएका नयाँ विद्यार्थीलाई स्वागत र पुराना विद्यार्थीलाई विदाई गरिएको छ ।
बिहिबार नेपालगन्जमा भएको कार्यक्रममा त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त कोर्ष बिएससी सिएसआइटी–२०७४ ब्याचलाई बिदाई गरियो भने बिएससी सिएसआइटी र बिसिए–२०७८ ब्याचलाई स्वागत गरिएको छ ।
बाँके बागेश्वरी क्याम्पसमा अध्ययनरत बिएससी सिएसआइटी, बिसिए– २०७७ ब्याच र बिएससी सिएसआइटी २०७५ ब्याचले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुतहरु पनि देखाएका थिए ।
पुराना विद्यार्थीलाई बिदाई र क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई बाँके बागेश्वरी क्याम्पसका म्यानेजिङ डिरेक्टर राजेन्द्र कुमार श्रेष्ठ, प्रिन्सिपल विरेन्द्र साउद लगायतले स्वागत गरेका थिए । कार्यक्रमका अवसरमा क्याम्पसमा खेलकुद प्रतियोगिता, विभिन्न सेमेस्टरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र अनुशासित विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । नेपालगन्जमा गुणस्तरीय प्राविधिक शिक्षामा जोड दिदै आएको बाँके बागेश्वरी क्याम्पसले विद्यार्थीलाई प्राविधिक र व्यावहारिक सिप सिकाउने कुरालाई प्राथमिकतामा राखेको प्रिन्सिपल साउदले बताए ।