राझामा बृहत सरसफाई अभियान सुरु
Thursday, August 18th, 2022, 8:56 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० मा बिहिबार बृहत सरसफाई तथा सचेतना कार्यक्रम गरिएको छ । अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सृजनशील आमा समुह र एयरपोर्ट टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
सरसफाई कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २०, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, नम्बर ४ बाहिनी अड्डा बज्रदल गण, ड्रिमल्याण्ड हाईस्कुल, मुनतारा बोडिङ स्कुल लगायतले सहकार्य गरेका थिए । ‘फोहोरलाई सहि व्यवस्थापन गरौं, एक अर्कामा रोग सर्नबाट बचाऔं ।
फोहोरको बर्गीकरण गराऔं ।’ भन्ने नारा सहित सरसफाई कार्यक्रम गरिएको थियो । बिहिबार सुरु गरिएको अभियानलाई निरन्तरता दिने स्थानीयले बताएका छन् ।
एयरपोर्ट चोकबाट सुरु भएको बृहत सरसफाई तथा सचेतना अभियानको उद्घाटन नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० अध्यक्ष कौशल धोवी, अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष उषा थापा भण्डारी, एयरपोर्ट टोल सुधार समिति अध्यक्ष शिवेन्द्र बहादुर भण्डारी लगायतले गरेका थिए ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० अध्यक्ष कौशल धोवीले वडावासीसँग सहकार्य गरेर फोहोरलाई मोहर बनाउने अभियान सुरुआत हुन जरुरी रहेको बताए । उनले भने,‘नगरको सबै भन्दा धेरै बजेट फोहोर व्यवस्थापनमा हुने गरेको छ । फोहोर व्यवस्थापन हाम्रोलाई चुनौति छ । एक दिन नगरपालिकाको गाडी नआएको अवस्थामा फोहोर व्यवस्थापन गर्न हामी सक्दैनौं । त्यसैले फोहोर व्यवस्थापनमा हुने खर्चलाई घटाउन नगरको विकासमा त्यो रकम खर्च गर्न सकिन्छ ।’ नेपालको सर्वाधिक गर्मी हुने ठाउँ नेपालगन्जको २० नम्बर वडा भएकोले यहाँ फोहोर व्यवस्थापन र वृक्षारोपण कार्यक्रमलाई जोड दिन उनले वडावासीमा अनुरोध गरे ।
सरसफाई कार्यक्रममा स्थानीय जनता, सहकारी र आमा समुहमा आवद्ध दिदीबहिनीहरु, नेपाली सेना, प्रहरी, विद्यालयका विद्यार्थी र युवाहरु सहित करिब १ सय जनाको सहभागिता रहेको एयरपोर्ट टोल सुधार समितिका उपाध्यक्ष घनश्याम थापाले कालपृष्ठ दैनिकलाई बताए ।
अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष उषा थापा भण्डारीले तिज विशेषको अवसर पारेर सरसफाई कार्यक्रम गरिएको बताईन् ।
आगामी दिनमा सामाजिक कार्यलाई निरन्तरता दिने बताउँदैं अध्यक्ष भण्डारीले भनिन्, ‘आगामी दिनमा सहकार्य गरेर यो भन्दा धेरै कार्यक्रम गर्ने योजना छ । हाम्रो वरपरको वातावरण स्वच्छ राख्नु हामी सबैको कर्तव्य हो । हाम्रो गाउँ, टोललाई हामी आफैंले सफा राख्ने हो । हामी स्वस्थ भयौं भने मात्र हाम्रो घर, परिवार, समाज अनि स्वच्छ हुन्छ ।’
‘मौलिक परम्परा, कला संस्कृतिको जगेर्ना गरौं, वडा नम्बर २० लाई समृद्ध वडा बनाउँ’ उद्देश्यका साथ अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सृजनशील आमा समुह र एयरपोर्ट टोल सुधार समितिले सरसफाई कार्यक्रमसँगै तिज विशेष कार्यक्रम गर्दैछ ।
जस अन्तर्गत शनिबार एयरपोर्ट चोकमा खुला एकल नृत्य प्रतियोगिता र दरखाने कार्यक्रमको आयोजना गरिएको अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष उषा थापा भण्डारीले बताईन । तिजको अवसरमा आयोजना गरिएको खुला एकल नृत्य प्रतियोगिताको प्रथम हुनेले ७ हजार ५ सय, दोस्रोले ५ हजार, तेस्रोले ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १ हजार पाउनेछ ।