महेन्द्र पुस्तकालय नेपालगन्ज स्थापनाको ७५ वर्ष पुरा, मनाइयो अमृत महोत्सव
Saturday, August 20th, 2022, 3:57 pm
Kalpristha
भिष्म लोध
नेपालगन्ज, ४ भदौं
बाँकेको नेपालगन्जमा रहेको महेन्द्र पुस्तकालयको अमृत महोत्सव मनाइएको छ । शुक्रबार ७५ औँ वर्ष पुरा गरेको पुस्तकालयको शुक्रबार अमृत महोत्सव मनाइएको हो । महोत्सवका अवसरमा पुस्तकालयको स्थापनाकालदेखि २०५४ सालको कार्यसमितिसम्म विभिन्न भूमिकामा रहेर सहयोग पुर्याएका कार्यसमिति सदस्य तथा कर्मचारी गरि ७५ जनालाई सम्मान गरिएको छ ।
यसैगरी, गत साउन २१ गते स्थानीय विभिन्न माध्यामिक विद्यालयमा सम्पन्न ‘विद्यार्थी जीवनमा पुस्तकालयको महत्व’ शिर्षकको निवन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ । सम्मानित व्यक्ति तथा विजेता विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं.२ बाट निर्वाचित सांसद भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले दोसल्ला, सम्मानपत्र तथा पुरस्कार प्रदान गरे ।
कार्यक्रममा मन्त्री राइले पुस्तकालयको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारवाट हुनसक्ने सहयोगका लागि पहल गर्ने आश्वासन दिए । मन्त्री राइले तत्कालका लागि आफनोतर्प बाट पुस्तकालयलाई रु ३ लाख दिने घोषणासमेत गरे । ‘यो पुस्तकालय नेपालगन्जको धरोहर हो । यसको विकास र संरक्षण सबैपक्षवाट हुन जरुरी छ ।’ मन्त्री राइले भने ।
कार्यक्रममा लुम्बिनी प्रदेशका बन बातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभा सदस्यद्वय आइपी खरेल र कृष्णा केसी नमूनालगायतको पनि उपस्थिति थियो । बि.स.२००३ सालमा ‘प्रेम पुस्तकालय’ को नामपछि महेन्द्र पुस्तकालय नाम राखिएको हो । महेन्द्र पुस्तकालयलाई २०७८ चैत २९ गते तदर्थ समिति गठन गरी क्रियाशील बनाइएको छ ।
यस्तै यसै अवसरमा पुस्तकालयले शनिबार दिउँसो २ बजे मुसायराको आयोजना गरेको पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताए ।