माइती–चेली जोडने पर्व
Sunday, August 28th, 2022, 9:25 am
Kalpristha
थारु समुदायको अट्वारी
दाङसहितका थारु बाहुल्यता रहेको जिल्लाहरुमा अट्वारी पर्व आज धुमधामका साथ मनाइदै छ । थारु समुदायको दोस्रो ठूलो पर्वका रुपमा रहेको अट्वारी कुशै औंशी पछिको पहिलो आइतबार पर्व मनाइन थालिइएको हो ।
दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुशै औंशी पछिको पहिलो आइतबार यो पर्व मनाउन थालेको हो ।
दुई दिनसम्म मनाइने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास छ । अट्वारीको पहिलो दिन आइतवारदिन सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरुको कल्याण भएको मान्यता अनुसार सूर्यको पूजाआराधना गरि थारु समुदायले अट्वारी पर्व मनाउने गर्दछन् । सूर्यलाई उज्यालो, अग्नी र शक्तिका रुपमा पूजा गर्ने प्रचलन छ ।
महाभारतको कथा अनुसार पाण्डव मध्यका भीम रोटी पकाउँदा पकाउँदै कौरवहरुसंग युद्ध लड्न गएको र युद्ध लडेर फर्किदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मरेको किंवदन्ती अनुसार दिनभरी थारु समुदायका पुरुषहरु व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजाआजा गर्छन् ।
अटवारीको पहिलो दिन अर्थात् शनिबार मध्य रातीमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ । साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अँट्वारी पुजा गर्ने गर्दछन् । अँट्वारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । दिनभरी व्रत बस्नुपर्ने भएकाले व्रत बस्ने पुरुषहरुले गएराती भाले नबास्दै भिनसर्या अर्थात दर खाने चलन रहेको थारु समुदायका अगुवाहरु चन्द्रप्रसाद चौधरी बताउछन । उनका अनुसार अट्वारीको दिन माछामासु बाहेक रोटी, दूध, दही, तरुल, फलफूल लगायतका परिकार अग्निमा चढाई पूजा गरिने उनको भनाई छ ।
दोश्रो दिन बिहानै व्रतालु पुरुषहरु नजिकैको जलाशयमा गई स्नान गरेर रोटि, माछा, बिभिन्न तरकारीका परिकारहरु अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोशेली अर्थात अग्रासन छुट्याइन्छ ।
बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन छ । अँट्वारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ ।
अँट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको र छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिन जाने चलन भएको थारु अगुवा चौधरीले बताए । दिनभरी परिवार र आफन्ती भेला भएर खानपिन गर्दै रमाईलो गरिन्छ । आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्तसंगको भेटघाट, दुखसुख बाँड्ने र आत्मीयता बढाउने अवसरको रुपमा पनि लिने उनले बताए ।
अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । व्रत बसेका व्रतालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन छ । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ ।
अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने प्रचलन रहेको थारु अगुवाहरु बताउँछन् । अट्वारी पर्वमा थारु बाहुल्य रहेका जिल्लाका स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् । थारु समुदायले आफ्ना पर्व र परम्परा मौलिक तरिकाले मनाउने गर्छन् । तर पछिल्ला दिनमा संस्कृति मनाउने मौलिक शैलीमा परिवर्तन आउन थालेको छ ।