‘बाटैमा बित्छ ६ घण्टा, थकाईले पढ्नै मन लाग्दैन’
Saturday, September 17th, 2022, 5:39 pm
Kalpristha
दुर्गममा पढई लागि संघर्ष
लिलाधर वली
सरकारले बर्सेनी सुलभ र सहज तरिकाबाट बालबालिकालाई शिक्षा उपलब्ध गराउन विभिन्न कार्यक्रम तथा नाराहरू तय गर्ने गरेको छ । ग्रामीण क्षेत्रका बालबालिकाका लागि ती नारा नारामै सीमित बन्ने गरेका छन् । उनीहरूका लागि आधारभूत तहको शिक्षा आर्जनका लागि घण्टौँ हिड्नुपर्ने बाध्यता रहेको छ ।
दाङ राप्ती गाउँपालिका–९ घोसखोला निवासी विरेन्द्र गाहा करिव तीन घण्टाको टाढाको स्कुलबाट शिक्षा लिन बाध्य छन् । त्योपनि जंगल र पहाडैपहाडको बाटो हिडेर । गाउँमा स्कुल नभएछि उनी दैनिक साढे ३ घण्टाभन्दा बढी समय लगाएर बंगलाचुली गाउँपालिका–३ भेडावारी मुलावारीमा रहेको माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्न आइपुग्छन् । ‘गाउँमा विद्यालय छैन् । पढ्नकै लागि करिव ३ घण्टा बढी हिड्नुपर्ने बाध्यता छ’,विरेन्द्रले भने,‘पानी पर्यो भने जंगलका खोलाहरु बढेर विद्यालय आउन सकिदैन । राम्रो मौसम भएको बेला मात्रै हो आउने ।’
उनीसँगै सोही गाउँबाट दैनिक करिब ७/८ जना विद्यार्थीहरु दैनिक ३ घण्टा बढी हिडेर मुलावारी विद्यालयमा आउने गरेका छन् । ‘नजिकमा विद्यालय छैन । त्यसैले दैनिक करिब तीन घण्टा बढी हिड्न बाध्य छौँ’,उनले भने,‘आजभोली तँ लामो दिन भएकाले घर पुग्दा उज्यालो हुन्छ । तर चिसोमा समयमा विद्यालय आउँदा झोलामा लाइट बोक्नुपर्ने बाध्यता हुन्छ ।’
बीरेन्द्रलाई जस्तै बंगलाचुली गाउँपालिका–५रोकिनेडाँडा निवासी जानकी गाहालाई पनि आधारभूत तहको शिक्षा ल्याउनका दैनिक चार घण्टा हिड्नुपर्ने बाध्यता छ । कक्षा ९ मा अध्ययनरत जानकीलाई विद्यालय पुग्न करिव २ घण्टा र फर्किन २ घण्टा हिड्नुपर्ने बाध्यता छ । विद्यालय नजिकै घर हुनेलाई पढ्न सहज हुने गरेपनि टाढा घर हुनेलाई समस्या हुने गरेको बताइन ।
‘घर नजिकै विद्यालय भएको भए पढ्नलाई सहज हुन्थ्यो होला, टाढा विद्यालय हुँदा धेरै दुख पाउनु परेको छ’,उनले भनिन्,‘टाढा विद्यालय हुँदा विहान साँझ घरमा पढ्ने समस्या हुँदैन । रातीमा पढम भनेको थकाईले निद्रा लागिहाल्छ ।’ पढ्नलाई रहर भएपनि भौगोलिक कठिनाईले आफु जस्ता विद्यार्थीहरुलाई पढ्न समस्या हुने गरेको उनले भनाई छ ।
लामो समय हिडेर विद्यालय जानुपर्ने बाध्यताका कारण बिहान उठेर स्कुल जान तयार पर्दा तथा बेलुकी अबेर घर पुग्ने भएकाले विद्यालयमा बाहेक घरमा पढ्ने विद्यार्थीहरुलाई समय नै नहुने गरेको माध्यामिक विद्यालय भेडावारी मुलावासीका शिक्षक बीरेन्द्रकुमार न्यौपाने बताउँछन् ।
शिशु कक्षादेखि १२ सम्म करिव ६ सय ७० विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा आधाभन्दा बढी विद्यार्थी दैनिक एक घण्टाभन्दा बढी हिडेर टाढाटाढाका गाउँहरुबाट आउने गरेको माध्यामिक विद्यालय भेडावारी मुलावारीका प्रधानाध्यापक खगराज लम्सालले बताएका छन् । उक्त विद्यालयमा बंगलाचुली गाउँपालिका–३, ४ र ८ सँगै घोराही उपमहानगरपालिका वडा नं. १ र राप्ती गाउँपालिका वडा नं. ९ का विभिन्न बस्तीबाट बालबालिका पढ्न आउने गरेका छन् । ‘भौगोलिक विकटताका कारण विद्यार्थीहरुलाई अनेत्र जाने ठाउँ छैन’,शिक्षक न्यौपानेले भने,‘जसले गर्दा विद्यालयमा बंगलाचुलीको मुलावासी, भेडावासीसँगै टाढाका बस्तीहरु रोकिनेडाँडा, राप्ती गाउँपालिकाको घोसखोलालगायतका गाउँहरुबाट बालबालिकाहरु पढ्न आउने गरेका छन् ।’ टाढाबाट आउने विद्यार्थी ढिला गरी विद्यालय आउने, थकाइ लाग्ने छिट्टै भोकाउने समस्याले पठनपाठनमा समस्या हुने गरेको शिक्षकहरु बताउँछन् ।
आजभोलीका दिनहरुमा भन्दा हिउँदमा विद्यार्थी घर आइनपुग्दै झमक्क साँझ पर्ने तथा बर्खामा पहिरो, खोला बाढीका कारण अभिभावकको मनमा आफ्ना बालबालिका घर आइनपुगुञ्जेलसम्म डर रहिरहने गरेको अभिभावक बताउँछन् । विभिन्न समस्या हुँदा हुँदै पनि नजिकै विद्यालय नहुँदा टाढाका विद्यालयमा बालबालिकाहरुलाई घण्टौ हिडाएर पठाउनुपर्ने बाध्यता रहेको छ ।
विद्यालयका पनि आफ्नै समस्या
२०३५ सालमा साविकको काभ्रे र लोहारपानी गाविसको बिचमा पर्ने भेडावारीमा स्थापना भएको प्राथमिक विद्यालयमा अहिले कक्षा १२ सम्म पढाई हुन थालेको छ । तर पछि विद्यार्थी संख्या कम भएपछि विद्यालय भेडाबारीबाट मुलावारीमा सारिएको थियो ।
स्थापना भएको ४४ बर्ष भैसक्दा पनि विद्यालयमा अनेकौ समस्या भएपनि विद्यालयले दुई बर्षअघिदेखि गाउँघरका बालबालिकाहरुलाई सहजताका लागि उच्च माध्यामिक शिक्षा कक्षा १२ सम्म पढाउन थालेको छ । तर पढाउनलाई शिक्षक अभावका कारण विद्यालयमा दश कक्षासम्म पढाउने शिक्षकहरुले पढाउने गरेको विद्यालयका छन् । कक्षा ११ र १२ मा शिक्षा संकायमा पढाई हुन थालेपछि १२ जना विद्यार्थीहरु गतबर्ष भर्ना भएको विद्यालयका प्रधानाधपक लम्सालले बताए ।
२०६४ सालसम्म कक्षा ५ सम्म पढाउने गरेको विद्यालयले त्यसपछि विस्तार ६, ७ र ८ को अस्थायी कक्षा चलाउँदै २०७२ सालमा १० कक्षा पढाउने अस्थायी अनुमति प्राप्त गरेको प्रधानाध्यापक लम्सालले बताए । ‘विद्यार्थीलाई पढ्नका लागि धेरै नै दु:ख हुन थालेपछि २०६४ सालमा ७५ हजार धरौटी राखेर प्रस्तावित मावि कक्षा ६–१० सम्म क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतबाट अनुमति प्राप्त गरेर पढाउन थालेका हौ’,प्रधानाध्यापक लम्सालले भने,‘त्यसपछि २०७२ थप दश हजार थपेर कक्षा दशसम्म पढाउन थालेका हौ ।
अहिले माध्यामिक तहको कक्षा सञ्चालनको अनुमति पालिकालाई दिएपछि गतबर्षदेखि पालिकाबाट अनुमति लिएर १२ सम्म चलाउन थालेका हौ ।’ दरबन्दी अनुसारका शिक्षकहरुले माथिबाट आएको तलव खाने गरेपनि अन्य शिक्षकहरुलाई गाउँपालिकाले तलव खुवाउने गरेको छ । विद्यालयमा शिक्षक १७ जना, बालविकासका सहयागी कार्यकर्ता २, विद्यालय सहायक १, विद्यालय सहयोगी २ गरि २२ जना शिक्षक तथा कर्मचारीहरु रहेका छन् ।
विद्यालयका तीन जना शिक्षकहरुको मात्रै दरवन्दी छ । बाँकी ३ जना राहत, २ जना केन्द्रीय अनुदान,२ जना सका, ९ जना गाउँपालिकाले राखेका शिक्षक र एक जना लेखापाल रहेका छन् । गाउँका विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउने र गाउँघरमै स्वरोजगार बनाउने गरी विद्यालयलाई कृषि क्याम्पसका रुपमा विकास गर्ने सोच रहेको २०४२ सालदेखि विद्यालयमा आवद्ध भएर अहिले प्रधानाध्यापकको जिम्मेवारीमा रहेका लम्साल बताउँछन् ।