तक्षशिला एकेडेमी, मंगल प्रसाद मावि, होलिल्याण्ड र हिमालयन विद्याको विजयी सुरुआत
Wednesday, June 10th, 2026, 9:19 pm
Kalpristha
नेपालगन्ज, जेठ २७ गते
तक्षशिला एकेडेमी, मंगल प्रसाद मावि, होलिल्याण्ड र हिमालयन विद्या निकेतन स्कुलले बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिताको पहिलो दिन जित हासिल गरेका छन् । बाँके जिaल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा तक्षशिलाले नोबेल इङलिस मिडियम स्कुललाई १–० ले पराजित गरेको छ । तक्षशिलाको लागि रिदम रावतले ३६औं मिनेटमा गोल गर्नु भएको थियो । निर्णायक गोल गर्ने रिदम प्लेयर अफ द म्याच घोषित समेत हुनु भयो ।
उहाँलाई नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, नेपालगन्ज न्युरो अस्पतालका फार्मेसी प्रमुख दिपेश विष्टले पुरस्कृत गर्नु भयो । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा मंगलप्रसादले सडनडेथमा बालविद्या मन्दिर कोहलपुरलाई पराजित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा ४–४ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा मंगल प्रसादका लागि प्रितिम चन्द, दिलेन्द्र रोकाय, जरक बोहोरा, दिक्षित मल्लले गोल गर्नु भयो । सडनडेथमा मंगलका लागि रिजन रानाले गोल गर्नु भयो । यता बाल बिद्याका लागि पेनाल्टी सुटआउटमा ललित गिरी, सन्तोष नेपाली, हेमन्त राना र पुर्ण बहादुर रानाले गोल गर्नु भएको थियो ।
खेलमा मंगल प्रसादका गोलकिपर रिजन राना कुँवर प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई प्रतियोगिताको मेडिकल पार्टनर नेपालगन्ज न्युरो अस्पतालका ल्याब विभाग प्रमुख निरज कुवंरले पुरस्कुत गर्नु भयो । तेस्रो खेलमा होलिल्याण्डले आदर्श मावि नेपालगन्जलाई ४–१ ले पराजित गरेको छ । होलिल्याण्डको लागि अभिशेष थापाले ८ मिनेट , आरुष थापामगरले १८औं मिनेटमा, कप्तान आशिष कुमाईले २८औं मिनेट र डानिल रानामगरले ३३औं मिनेटमा गोल गर्नु भयो । खेलमा होलिल्याण्डका अभिशेष थापा प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धन सिंह सम्झना र एन्फा बाँकेको वरिष्ट सदस्य गोविन्द श्रेष्ठले पुरस्कृत गर्नु भयो ।
चौथो खेलमा हिमालय विद्या निकेतनले सगरमाथा स्कुललाई २–० ले पराजित गरेको छ । हिमालयनको लागि हरिष कुमार बोहोराले १६औं मिनेटमा र सुदिप विकले इन्जुरी समयमा (५२औं मिनेट) गोल गर्नु भयो । खेलमा प्लेयर अफ द म्याच सुदिप विक घोषित हुनु भयो ।
उहाँलाई नेपाली सेनाका सेनानी एवम् पुर्व राष्ट्रिय फुटबल खेलाडी दिप श्रेष्ठले पुरस्कृत गर्नु भयो । प्रतियोगितामा बाँकेको ८ वटा स्थानीय तहको छात्र तर्फ ३७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको समुह ‘ए’ मा ब्राइटल्याण्ड, तक्षशिला एकेडेमी, नोबेल एकेडेमी, मंगल मावि, बाल विद्या मन्दिर, होलिल्याण्ड मावि, आर्दश मावि नेपालगन्ज, सगरमाथा बोडिङ्ग स्कुल, हिमालयन विद्या निकेतन, जीवनज्योती मावि, सिद्धार्थ विद्या सदन, ज्ञानज्योती कोहलपुर, मोर्डन पब्लिक स्कुल, सनविम मावि, सिटिजन नमुना बोडिङ्ग स्कुल, होराइजन एकेडेमी, साईनिङ्ग स्टार मावि, जिभिएन र अरुणोदय मावि खजुरा रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा गत वर्षको उपविजेता ग्रीनपीस मावि, कृष्ण मावि, मनकामना मावि, योगिनी मावि, ज्ञानोदय मावि, सेन्टथोमस, पशुपति मावि, जय बागेश्वरी मावि, ड्रिमल्याण्ड मावि, सम्झना एलिट, युनाइटेड एजुकेशनल, राम मावि, नेपालगन्ज मोडेल एकेडेमी, जनज्योती मावि कोहलपुर, आदर्श मावि राझा, नेपालगन्ज सेन्ट जेभियर्स, निम्बल एकेडेमी र मिसन पब्लिक रहेका छन् । यसैगरी प्रतियोगिताको छात्रा तर्फ भने अझै खेल तालिका सार्वजनिक गरिएको छैन । प्रतियोगितामा महिला टिमलाई प्राथमिकता दिदैं प्रतियोगिताको दौरान खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
हाल सम्म छात्रा तर्फ ११ टिमले दर्ता गराएका छन् । बाँके जिल्ला फुटबल संघले मेयर कप फुटबल दुई दशक देखि आयोजना गर्दै आएको प्रतियोगिता हो । सबै भन्दा पुरानो प्रतियोगिताले विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नमा महत्वपुर्ण सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनु भयो । प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले नगद ३१ हजार, उपविजेताले १६ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

……..
गत वर्षको बाँके जिल्ला स्तरीय मेयर कप फुटबलको पुरुष ब्राइटल्याण्ड र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए । प्रतियोगितामा पुरुष तर्फ ब्राइटल्याण्डका सिरिस रावत र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भएको थियो । प्रतियोगिता अन्तर्गत बिहिबारको पहिलो खेल कृष्ण मावि कोहलपुर र मनकामना मावि नेपालगन्जबिच पहिलो खेल, दोस्रो खेल योगिनी मावि गौघाट र ज्ञानोदय माविबिच हुनेछ भने तेस्रो खेल सेन्टथोमस र पशुपति मावि राझाबिच हुनेछ । चौथो खेल ड्रिमल्याण्ड स्कुल र जय बागेश्वरी मावि बिच हुनेछ ।

………..

………..