पार्किङ टेण्डर रद्द गर्न ई–रिक्सा चालकको माग
Wednesday, September 21st, 2022, 6:53 pm
Kalpristha
नेपालगन्जका ई–रिक्सा चालकले पार्किङ टेण्डर रद्द गर्न माग गर्दै मंगलबार नेपालगन्ज उप–महानगरपालिका आगाडि प्रदर्शन गरेको छन् । नेपालगन्ज उप–महानगरपालिकाले पार्किङस्थलको लागि आव्हान गरेको टेण्डर प्रक्रियालाई रद्द गर्नुपर्ने माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल ई–रिक्सा व्यवस्थापन कम्पनी प्रालि नेपालगन्जको अगुवाईमा उनीहरुले उप–महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘ई–रिक्सा पार्र्किङ स्थलका लागि नेपालगन्ज उप–महानगरपालिकाको ठेक्का टेण्डर आह्वान गरेको निर्णयको बहिष्कार गर्दछौं’, ‘रिक्सा चालकहरुलाई ठेकेदार होइन दु:ख, पीडा बुँझिदिने प्रतिनिधि चाहिन्छ’, ‘ठेक्का पट्टाद्वारा प्रतिनिधि होइन, गरिब रिक्सावालालाई लुट्ने ठेकेदार नै आउँछ’, ‘ई–रिक्सा व्यवस्थापन गर्न सक्ने योग्य र सक्षम छानी जिम्मा लगाउ’, ‘व्यापारिकरण गर्ने ठेक्कापट्टाको प्रथा हटाउ’ भन्दै बिरोध गरेका छन् ।
साथै उनीहरुले ‘आवश्यकता संख्या भन्दा बढी ई–रिक्सा भइसक्दा पनि सरोकारवालाले थप ई–रिक्सा बजारमा ल्याइएको’, ‘चाहेर होइन नचाहँदा पनि ई–रिक्साले बजारमा जाम भएको छ’ जस्ता प्ले कार्ड बोकेर पार्किङ टेण्डरको विरोध गरेका छन् ।