राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै विभिन्न ठाउँमा विरोध
Wednesday, September 21st, 2022, 7:24 pm
Kalpristha
कालपृष्ठ डेस्क
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा देशका विभिन्न स्थानमा विरोध भएको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि आलोचना भइरहेको छ ।
यसै विषययलाई लिएर संयुक्त विद्यार्थी संघ पनि सडकमा उत्रिएको छ । राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि गैर संवैधानिक कदम चाल्दै प्रमाणीकरण गर्न अस्वीकार गरेकोले विरोध प्रदर्शन गरिएको संयुक्त विद्यार्थी संघले जनाएको छ ।
अखिल क्रान्तिकारीले बिहीबार काठमाडौंको आरआर क्षेत्रमा राष्ट्रपतिको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका हुन् । अखिल क्रान्तिकारीले बुधबार काठमाडौंको मीनभवन क्षेत्रमा राष्ट्रपतिको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले ‘एमालेको राष्ट्रपति बिग्रेछ मति, नागरिकता विधेयक एमालेले पेश गरे बिर्ता हुने, अरूले पेश गरे फिर्ता हुने’ जस्ता नारासहित प्रदर्शन गरेका थिए ।
उनीहरूले ֥ ‘अरू केही जान्दैनांै, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौं, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कू’ को घोर विरोध गर्दछौं, विद्या तिमी को हौ चिन्दैनौं, शितल निवास राख्दैनौ’ जस्ता नारासहित प्रदर्शन पनि गरेका थिए ।
वीरगन्जमा पनि राष्ट्रपतिको विरोधमा जसपाले प्रदर्शन गरेको छ । नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा वीरगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर कमिटीले बुधबार दिउँसो राष्ट्रपति भण्डारी विरूद्ध प्रदर्शन गर्दै उनको पुतला दहन गरेको हो ।
जसपा कार्यकर्ताले झण्डै आधा घण्टासम्म आदर्शनगरमा टायर बालेर प्रर्दशनसमेत गरेका थिए ।
‘राष्ट्रपतिज्यूले संविधान मिचेर संसदीय व्यवस्थाविरूद्ध प्रहार गर्नुभएको छ । उहाँले यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । तराई, पहाड र हिमालका ५ लाख बढी युवालाई उहाँले नागरिकताबाट वञ्चित गर्नुभयो,’ जस्ता नारा लगाएका थिए ।
त्यस्तै उनीहरुले राष्ट्रपति भण्डारीको असंवैधानिक कदमविरूद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्नेसमेत बताएका छन् ।
त्यस्तै वीरगन्जमा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि राष्ट्रपति भण्डारीविरूद्ध टायर बालेर प्रदर्शन गर्दै सिरहाको कसहामा पुत्ला जलाएको छ ।
तस्बिर : सेतोपाटीबाट