राष्ट्र बैंकको नीतिविरुद्ध दबाबमूलक कार्यक्रम गरिने
Thursday, September 22nd, 2022, 6:11 pm
Kalpristha
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकको नीतिविरुद्ध दबाबमूलक कार्यक्रम गर्ने भएको छ । वणिज्य संघले बैंकहरुको चर्को ब्याजदर वृद्धि र कारोबारको २०/२५ प्रतिशतमात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको बिरोध गर्दै दबाबमूलक कार्यक्रम गर्न लागको हो ।
जसअन्तर्गत वाणिज्यसँगले शुक्रबार राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडि धर्ना एवम् ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्ने भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जले दबाबमूलक कार्यक्रमका लागि बिहीबार नेपालगन्जको आफ्नै कार्यलय परिषरमा पत्रकार सम्मेलन गरेर आफूले राष्ट्र बैंकविरुद्ध गर्न लागेको दबाबमूलक कार्यक्रमका बारेमा सार्वजनिक गरेको छ । सो कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, निवर्तमान अध्यक्ष नन्दलाल वैश्यलगायत सम्पूणर् वर्तमान, निवर्तमान कार्यसमितिका पदाधिकारी, नेपालगन्जका उद्योगी तथा व्यवसायीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष अब्दुलले बैंकहरुको चर्को ब्याजदरका कारण उद्योगी तथा व्यवसायीलाई आफ्नो दैनिक कारोबार गर्नसमेत गाह्रो भएको बताए । उनले बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागू हुनेगरी ब्याजदरमा गरेको वृद्धिले कर्जाको ब्याजदर आकासिने अवस्था आएको बताए ।
उनले भने, ‘कोभिड महामारी र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रमावित उद्यमी व्यवासयी मर्माहत भएका छौं । कारोबारको २०/२५ प्रतिशत मात्र ऋण लागानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले साना तथा मझांैला व्यवसायीहरु अपठ्यारोमा परेका छन् ।’
अब्दुलले यसलाई सहजीकरण गर्न नेपाल राष्ट्र बैंकसँग जोडदार माग गर्दै दबाबमूलक विरोधमा व्यवसायी जान बाध्य बनेको बताए । साथै उनले बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
त्यस्तै निवर्तमान अध्यक्ष वैश्यले अवैध आयातसँगै सस्तोको लोभमा सीमापारी किनमेलका लागि जाने उपभोक्ताका कारण स्वेदेशी बजार ठप्प भएको बताए । जसका कारण राज्यलाई करोडौंको राजश्व घाटा भई रहेको उनले बताए । उनले भने, ‘स्वंय नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य विगत केही महिनादेखि पूरा हुन नसकी ३५ प्रतिशतको हाराहारीमा कमी आउनुले अवैध व्यापारले कुन हदसम्म समस्या सिर्जना गरेको छ भने प्रमाणित गर्दछ ।’
कार्यक्रममा व्यापारी बाहेक अन्य जो कोही व्यक्तिले भारतबाट सामान ल्याउछ भने उसलाई पनि सरकारको नियम लागू हुनु पर्नेमा जोड दिइएको थियो ।
यसै विषयलाई लिएर नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जले अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगन्ज भन्सार कार्यालय, जमुनाह नाकामा उपभोक्ता सचेतना एवम् दबाबमूलक कार्यक्रम पनि असोज ८ गते गर्ने जनाएको छ ।