वडा ४ मा निःशुल्क किटजन्य स्वास्थ्य शिविर
Thursday, September 22nd, 2022, 6:20 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ४ मा एकदिने निःशुल्क किटजन्य स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपालगन्ज उप-महानगरपालिकाले आयोजना गरेको उक्त शिविरको कार्यबहाक नगर प्रमुख कमरुद्दीन राईले शुभारम्भ गरेका थिए । शिविरमा किटजन्यसँगै अन्य रोगको स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यवहाक नगर प्रमुख राईले शिविरबाट किटजन्य रोगको जोखिममा रहेको वडा नम्बर ४ का स्थानीय लाभान्वित हुने बताए । उनले वडा नम्बर ४ ले स्वास्थ्य सेवा र सचेतना प्रबद्र्धनमा उदाहरणीय काम गरिरहेको भन्दै अन्य वडाले पनि अनुशरण गर्न जरुरी रहेको बताए ।
वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडा नम्बर ४ मा डेंगुका बिरामी देखिएकाले यसअघि पनि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान संचालन गरेको स्मरण गराउँदै अहिले डेंगुलगायत अन्य किटजन्य रोगको अवस्था थाहा पाउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।
डेंगु, मलेरिया र स्क्रब टाइफसको निःशुल्क परीक्षण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको नेपालगन्ज उप-महानगरपालिकाका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकल पर्सन तेज वलीले बताए । उनले बाँकेमा हालसम्म ४४ जनामा डेंगु पुष्टि भइसकेको जानकारी दिँदै नेपालगन्ज उप-महानगरपालिकाभित्र १५ जनालाई डेंगु देखिएकोमा चारजना वडा नम्बर ४ का रहेको बताए ।
शिविर शुभारम्भ कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, भेरी अस्पतालका फिजिसियन डा.पारस श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेकी किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपाल रेडक्रस सोसाइटी बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलगायत उपस्थिति थियो ।
वडा नम्बर ४ को सहजीकरण, भेरी अस्पतालको सहयोग र स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा शिविर आयोजना गरिएको हो ।