टरिगाउँ एयरपोर्टको विस्तार हुने
Thursday, September 22nd, 2022, 6:40 pm
Kalpristha
संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरपोर्टको विस्तार सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बिहीबार दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको स्थलगत निरीक्षणका लागि आएका मन्त्री श्रेष्ठले एयरपोर्टको निरीक्षणपछि अब विस्तार गर्दै ७२ सिटे हवाइजहाज बस्न सक्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तार गर्न आवश्यक रहेको बताएका हुन् ।
मन्त्री श्रेष्ठले राम्रो सम्भावनासमेत रहेकोले दशैं लगतै सर्भेको काम सुरू हुने र त्यसपछि बजेट सुनिश्चितता गरी धावन मार्ग विस्तारको काम अगाडि बढ्ने बताए ।
‘हामी दाङ एयरपोर्ट विस्तारका लागि अवस्था के रहिछ भनेर अवलोकनका लागि आएका हौं’, मन्त्री श्रेष्ठले भने,‘एयरपोर्ट निर्माण भएको लामो समय भएको रहिछ ।
निरिक्षण गर्दा विस्तारको सम्भावना पनि रहिछ । अब छिट्टै हामी ७२ सिटे जहाज अवतरण गर्ने गरि एयरपोर्टको धावनमार्ग बिस्तारमा लाग्छौं ।’
२०१७ सालदेखि नियमित संचालनमा आएको एयरपोर्टको स्तरवृद्धि नहुँदा नियमित उडान हुन सकेको छैन । मन्त्री श्रेष्ठले नेपालको भौगालिक अवस्थाका कारण सवै क्षेत्रलाई जोड्का लागि हवाई सेवा उपयुक्त रहेकाले देशका विभिन्न ठाउँमा एयरपोर्ट बनाउन लागेको बताए । ।
यसैबीच शहरी विकास मन्त्री मेटमणि चौधरीले टरिगाउँ एयरपोर्ट बनाउने सवालमा सबैले सहयोग आवश्यक रहेको बताए । मन्त्री चौधरीले भएको एयरपोर्टको विकासभन्दा पनि नयाँ एयरपोर्ट बनाउनतिर ध्यान दिँदा अहिले भएको एयरपोर्टको स्तरउन्नती हुन नसकेको उनको भनाइ थियो ।
एयरपोर्ट बनेको लामो समय भैसक्दा पनि एयरपोर्टको सुधार नहुनु लज्जाबोध भएको मन्त्री चौधरीले बताए ।
मन्त्री चौधरीले जिल्लामा भएको एउटा एयरपोर्ट विस्तार गर्न नसक्ने दाङले कस्ता नेता जन्माएको रहिछ भन्ने लाग्ने गरेको बताए । उनले ७२ सिटे प्लेन बस्न सक्नेगरी टरिगाउँ एयपोर्टको धावनमार्ग बिस्तारको काम अगाडि बढ्ने र त्यसका लागि पैंसाको अभाव हुन नदिने बताए ।
त्यसैगरी स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले टरिगाउँ एयरपोर्टको विस्तारका लागि सबै सकारात्मक बन्न आवश्यक रहेको बताए । राज्यमन्त्री केसीले टरिगाउँको एयरपोर्टको विकास हुन सके दाङको विकासले गति लिने बताए ।
उनले त्यसका लागि एयरपोर्टमा कसैले पनि राजनीति गर्न नहुने बताए । ‘म टरिगाउँ एयरपोर्टको स्तरउन्नतीका लागि पहल गरिरहेको छ । एयरपोर्टमा राजनीति गर्न आएको होइन’,राज्यमन्त्री केसीले भने,‘मलाई एयरपोर्टको सेन्टिमेन्ट देखाएर भोट तान्नु छैन ।’