नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता
Friday, September 23rd, 2022, 12:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ६ असोज
नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले बताए । उनले भने, ‘हिजो बिहिवार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो । चार वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।’
एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो । एम्सका कोर्ष म्यानेजर आमिर सान्डिवानले भदौ १२ गते सुर्खेतरोड स्थित रुट मापन गरेर रिपोर्ट बुझाएका थिए । वल्र्ड एथ्लेटिक्सका इन्टरनेसनल मेजरमेन्ट एडमिनिस्ट्रेटर डेभ कुन्डीको हस्ताक्षरित प्रमाणपत्र प्राप्त भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकादेखि सुरु भइ जानकी गाउँपालिकाको केही भुभाग हुँदै कोहलपुर नगरपालिकाको कार्यालय देखि करिब चार किलोमिटर उत्तरतर्फ बानियाभार पुगेर पुनः सोही रुट हुँदै बीपी चोकमा पुगेर सम्पन्न हुनेगर्दछ ।
आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार हुँदैछ ।
नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शनिवार हुँदै आएको म्याराथन यसबर्ष आम निर्वाचनका कारण यसपटक मंसिर २४ गते हुने भएको हो ।
क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ ।
नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ । गत बर्ष झैं यस बर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिएको छ ।
पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।
स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ ।