‘राष्ट्र बैंकको नीतिले व्यवसायी पलाइन्’
Friday, September 23rd, 2022, 5:48 pm
Kalpristha
बाँकेका विभिन्न व्यवसायी संगठनका प्रतिनिधि तथा व्यवसायीले नेपाल राष्ट्र बैंकको ब्याजदर नीतिका कारण बाँकेमा व्यवसायी क्षेत्रमा काम गरिरहेका व्यक्तिहरु पलाइन हुँदै गएको बताएका छन् । उनीहरुले चर्को ब्याजदरका कारण व्यवसायी पेशा छोड्नुपर्ने बाध्यता आइपरेको बताएका हुन् ।
शुक्रबार चर्को ब्याजदरविरुद्ध नेपालगन्जमा उत्रिएका उद्यगी तथा व्यवसायीले बैंकहरु मोटाउने र व्यवसायीहरु हराउँदै जाने अवस्था आएको बताएका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडि चर्को ब्याजदरका विरुद्ध उत्रिएका बाँकेका उद्यमी तथा व्यवसायीले राष्ट्र बंैकविरुद्ध चरणबद्धरुपमा दबाबमूलक कार्यक्रम गर्ने बताए ।

.
उनीहरुले शुक्रबार बिहान नेपाल राष्ट्र बैंक नेपालगन्जमा धर्नासमेत दिए । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा शुक्रबार बिहान १० बजे यहाँका उद्योगी, व्यवसायीले एक घण्टा धर्ना दिएका थिए ।
बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले मर्कामा परेको भन्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । बैंक तथा वित्तीय संस्थाले यही असोज १ गतेदेखि लागू हुनेगरी ब्याजदरमा गरेको वृद्धिले कर्जाको ब्याजदर आकाशिने भन्दै संघले बिहीबार आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
नेपाल राष्ट्र बैंक नेपालगन्जको मुलगेटमा धर्नामा बसेका उद्योगी, व्यवसायीले चर्को ब्याजदरका कारण व्यवसायलाई चलाउनै कठिन भइरहेको दुखेसो पोखेँ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ऋण लिएका व्यवसायीको अवस्था दयनीय बनेको बताए । ‘हामीले जिन्दगीभरी सरकारलाई कर बुझाएका छौं, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ र हाम्रो आन्दोलन राष्ट्र बैंक वा बैंकका कर्मचारीसँग होइन । नीतिसँग हो ,’ मन्सुरीले भने ।
संघका महासचिव चिरञ्जिवी ओलीले चर्को ब्याज तिर्नुपर्दा उद्योग, व्यवसाय माथि उठ्न नसक्ने बताए । बैंकको चर्को ब्याजका कारण बजारमा महंगी बढेको उनको तर्क छ । कारोबारको २०/२५ प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले साना तथा मझौला व्यवसायीहरु अप्ठ्यारोमा परेको महासचिव ओलीले बताए ।

.
धर्नामा सहभागी हुन आएका नेपालगन्ज उप-महानगरपालिकाका निर्वतमान मेयर एवम् राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले नेपाललाई कंगाल हुने स्थिति राष्ट्र बैक र सरकारले गरिरहेको आरोप लगाए । ‘व्यापारीहरु देशभर आन्दोलित भएका छन्, व्यापारीको आन्दोलनलाई राप्रपाले पूणर् रुपले सहयोग गर्ने निणर्य गरको छौं,’ उनले भने ।
धर्नामा बाँकेका व्यवासयीहरुले ‘ब्याजदर वृद्धि नियन्त्रण गर’, ‘ब्याजदर सिंगल डिजिट कायम गर’, ‘कर्जा असुलीको नाममा व्यवसायीहरुलाई धम्की दिन बन्द गर’ लगायतका प्ले कार्डसहित नारा लगाएका थिए ।
धर्नापश्चात उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष मन्सुरीले नेपालगन्ज राष्ट्र बैंकका निर्देशकलाई ज्ञापन पत्र पनि बुझाएको छन् । संघले राष्ट्र बैंकमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय काठमाडौं, अर्थमन्त्री तथा अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्यय महासंघ काठमाडौं र सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा समेत पत्र पठाएका छन् ।
संघले आन्दोलन कार्यक्रमअन्तर्गत शनिबार पनि नेपाल-भारत जमुनाहा नाकामा उपभोक्ता सचेतना एवम् दवावमूलक कार्यक्रम गर्ने तयारी गरेको छ ।

.