कथाकार कल्पनाको ‘कल्पदीप’ विमोचन
Saturday, September 24th, 2022, 6:36 pm
Kalpristha
कथाकार कल्पना पौडेल ‘जिज्ञासु’को नीतिकथा संग्रह ‘कल्पदीप’को विमोचन गरिएको छ । शनिबार खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा कार्यक्रमको अयोजना गरेर कल्पनाको ‘कल्पदीप’ विमोचन गरिएको हो ।
कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष रहेकी कल्पना पौडेलको अध्यक्षता र प्रज्ञा प्रतिस्ठानका पूर्व सचिव प्राज्ञ सनत रेग्मीको प्रमुख आतिथ्यतामा कथा संग्रह ‘कल्पदीप’ को विमोचन गरिएको छ ।
कार्यक्रममा ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसकी क्याम्पस प्रमुख चरित्रा साह, भेरीसाहित्य समाज समालोचना विभागकी सदस्य मिना बराल, डा ईन्द्रबहादुर भन्डारी, प्राज्ञ हरि तिमल्सिना, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, प्रमुख अतिथि प्राज्ञ सनत रेग्मीलगायतले कथाकारले लोप हुन लागेको नीति कथा जसले पसुपंक्षीलाई पात्र बनाएर सामाजिक जनजीवनलाई कथावस्तु बनायर लेखियका ३१ वटा कथाहरुले समाजलाई सकारात्मक सन्देश दिन सफल भएको बताए । उनीहरुले बालबालिकाले रुचाउने सरल र सरस बोधगम्य एवम् सकारात्मक सन्देस दिनेखालका भएकाले विद्यालयस्तरीय पाठ्यक्रमको लक्ष पूरा गर्न पाठ्यपुस्तकमा समेट्न सकिने खालका रहेको प्रतिक्रिया दिए ।

.
त्यसैगरी विमोचन कार्यक्रममा दुईजना व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएका डा. ईन्द्रबहादुर भन्डारीलाई साहित्य सम्मान र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएकी निलसागर सेवा आश्रमकी संस्थापक अध्यक्ष सरिता नेपालीलाई सामाजिक सम्मानद्वारा फाउन्डेसनले सम्मान गरेको हो ।
यसअघि विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी अध्यक्षसमेत रहेकी कल्पनाको नयाँ कृति संग्रह ‘कल्पदीप’ को आवरण भर्चुअल माध्यामबाट सार्वजनिक गरिएको थियो । विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले आयोजना गरेको भानु २०९औं जयन्तीको विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका प्रा. डा. ब्रतराज आचार्यद्वारा ‘कल्पदीप’ को आवरण सार्वजनिक गरिएको थियो ।

.

.