भेरीमा संचालित क्यान्टिनको घाटा ४ लाख पुग्यो
Thursday, September 29th, 2022, 10:48 am
Kalpristha
अंजनी माता रसोईले भेरी अस्पतालमा संचालन गरेको क्यान्टिनको ४ लाख पुगेको छ ।
अंजनी माता रसोई व्यवस्थापन समितिका अनुसार दुइ वर्षअघि देखी संचालनमा रहेको क्यान्टिन व्यवस्थापनमा ४ लाख ७७ हजार ८ सय ५१ रुपैयाँ घाटा भएको छ ।
नेपालगन्ज उप–महानगरपालिका र श्री सुन्दरकाण्ड मित्र मण्डलले दुई वर्ष अघि भेरी अस्पतालमा आउने बिरामी र बिरामीका कुरुवालाई २० रुपैयाँमा पेटभर खाना खुवाउने अभियानको सुरुआत गरेको थियो । क्यान्टिनमा खाना खाना आउनेको संख्या बढदैं गएपछि व्यवस्थापन समितिले पछि प्रतिव्यक्ति ३० रुपैयाँ दरले खाना खुवाउन थालेको थियो ।
भेरी अस्पताल परिसरमा संचालिन उक्त क्यान्टिनमा अहिले दैनिक करिब ८ सय जनाले खाना खाईरहेका छन् । जसलाई संचालन गर्न मासिक रुपमा ९ लाख भन्दा बढी रकम आवश्यक पर्ने गरेको बताउँछन् अंजनी माता रसोई व्यवस्थापन समितिका प्रमुख जितेन्द्र कुमार सिंह ।
सिंहका अनुसार २०७७ कात्तिक ७ गतेदेखी सुरु भएको उक्त क्यान्टिनमा २०७९ भदौं सम्म २ लाख ५० हजार ३५ जनाले खाना खाईसकेका छन् ।
पछिल्लो दुई वर्षको अवधिमा क्यान्टिन संचालन गर्न १ करोड ३७ लाख २१ हजार १ सय ६ रुपैयाँ खर्च भैसकेको छ ।
विभिन्न दाता र नेपालगन्ज उप–महानगरपालिकाले मासिक रुपमा दिने गरेको १ लाख रकम गरी हाल सम्म १ करोड ३२ लाख ४३ हजार २ सय ५५ रुपैयाँ आर्थिक रकम सहयोग प्राप्त भएको व्यवस्थापन समितिका प्रमुख जितेन्द्र कुमार सिंहले कालपृष्ठ दैनिकलाई बताए ।
दैनिक रुपमा खाना खान आउने बिरामीको संख्या बढिरहेकोले व्यवस्थापनमा आर्थिक समस्या देखिएको सिंहले बताए । उनले भने,‘हामीले संचालन गरेको क्यान्टिनले आर्थिक रुपमा कमजोर भएका मानिसलाई धेरै सहयोग गरेको छ । यसले मानविय सेवामा ठुलो योगदान गरेको छ । तर आर्थिक व्यवस्थापन गर्न भने हामीलाई समस्या परिरहेको छ ।’