वरिष्ठ साहित्यकार रेग्मीलाई यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ प्रदान गरिने
Tuesday, November 1st, 2022, 5:54 pm
Kalpristha
वरिष्ठ साहित्यकार सनत रेग्मीलाई यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी योगदान गरेका कथाकार रेग्मीलाई ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ प्रदान गरिने भएको हो ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जारी गरेको विज्ञप्तिमा ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ कथाकार रेग्मी र पत्रकार न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ ।
नेपालगन्जका स्थायी वासिन्दा रेग्मी सहित यो पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई पनि प्रदान गरिन लागेको हो ।
पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा बढी विशेष योगदान दिएका मोरङका वरिष्ठ पत्रकार न्यौपानेलाई २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।
समालोचक प्राज्ञ दधिराज सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट २०७३ सालदेखि यो पुरस्कार नियमित प्रदान गरिंदै आएको छ ।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले निर्णय गरेको जनाइएको छ ।
यस वर्षको पुरस्कार आगामी मंसिरमा १ गते कार्यक्रमको आयोजना गरी वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष साहित्य र पत्रकारिता क्षेत्रका दुई व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।