दोषीलाई कारवाही माग्दै गुलरिया–राजापुर सडकखण्ड अवरुद्ध
Wednesday, November 2nd, 2022, 12:28 pm
Kalpristha
गुलरिया: बर्दियाको गुलरिया नगरपालिका–४ स्थित बबई बहुमुखी क्याम्पस नजिकै गुलरिया–राजापुर सडकखण्डमा विंगरले ठक्कर दिइ एक महिलाको मृत्यु भएपछि स्थानीय एवम् आफन्तहरुले सडक बन्द गरेका छन् । सुर्खेत विरेन्द्रनगर नगरपालिका–२ घर भइ गुलरिया नगरपालीका–४ क्याम्पस रोडमा डेरा गरी बस्ने ४९ वर्षीया सूर्यकला राजीको भे १ ज १११२ नम्बरको विंगरले ठक्कर दिँदा मंगलबार बेलुकी निधन भएको थियो । पीडितहरुले घटनास्थल क्षेत्रको सडकमा टायर बाल्दै ढुंगा मुढाले छेकेर सडक जाम गरेका हुन् ।
बन्दका कारण राजापुरबाट गुलरिया आउने र गुलरियाबाट राजापुर जाने सवारी साधन अवरुद्ध छन् । सडक खुलाउनका लागि घटना घटाउने सनराइज यातायात प्रालि नेपालगञ्जको समिति, पीडित र पीडक पक्षलाई बोलाएर छलफलको तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए ।
गाडीका चालक घनश्याम केसीलाई नियन्त्रणमा लिएसंगै घटनाको अनुसन्धान भैरहेको र मृतकको शव हस्पिटलमै रहेको डीएसपी बोहोराले जानकारी दिए ।
घटनापश्चात् समिति एवम् पीडक पक्षले बेवास्ता गरेपछि सडक अवरुद्ध गरेको स्थानीयले बताएका छन् । दोषीलाई कारवाही र पीडितलाई क्षतीपूर्ति दिनुपर्ने स्थानीय एवम् आफन्तको माग छ ।
घटनास्थल क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी तैनाथ छन् । पीडित र पीडकबिच सहमती गरी सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।