अमेरिकी र्यापर टेकअफको गोली हानी हत्या
Wednesday, November 2nd, 2022, 6:29 pm
Kalpristha
चर्चित अमेरिकी र्यापर टेकअफको ह्युस्टनमा गोली हानी हत्या भएको छ ।
हिपहप समूह मिगोसका सदस्य समेत रहेका २८ वर्षीय टेकअफको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी र फ्यानले श्रद्धाञ्जली दिइरहेका छन् ।
स्थानीय प्रहरीले बलिङ गल्लीमा मंगलबार बिहान उनको गोली हानी हत्या भएको जनाएको छ ।
किर्सिनिक खरी बल वास्तविक नाम रहेका र्यापर टेकअफलाई बाटोमा ढलिरहेको अवस्थामा केही व्यक्तिले देखेका थिए ।
ह्युस्टन प्रहरीका प्रमुख ट्रोइ फिनरले अन्य दुई व्यक्तिले घाइते गायकलाई नजिकको अस्पतालमा लगेको जनाएका छन् ।
घटनामा संलग्न रहेको अभियोगमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । प्रहरीले आधिकारिक रुपमा मृत्युको घोषणा गर्नुअघि नै गायक टेकअफ मारिएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
टेकअफ आवद्ध रहेको मिगोस ब्याण्डले सन् २०१३ देखि लोकप्रियता प्राप्त गरेको थियो । र्यापर ड्रेकले यो समूहको गीतलाई रिमिक्स गरेर गाएपछि ब्याण्डको चर्चा चुलिएको थियो ।
बिलबोर्ड हट हन्ड्रेडमा यो ब्याण्डले चर्चित चार गीत पेस गरिसकेको छ । नयाँ पुस्तामा निकै रुचाइएको मिगोस ब्याण्ड यसको मिगोस भनिने शैलीले परिचित समेत छ ।