पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
Thursday, November 3rd, 2022, 8:55 pm
Kalpristha
एजेन्सी
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।
समाचार पत्र द डनका अनुसार पञ्जाब प्रान्तमा बिहीबार भएको र्यालीका क्रममा अज्ञात बन्दुकधारीले गोली चलाएका हुन् ।
वाजिरावादको हो चौकमा खान चढेको कन्टेनरमा गोली हानेका हुन् ।
इमरानको खुट्टामा गोली लागेको छ। अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त छ ।
गोली लागेर पाकिस्तान तेहरिक इन्साफका केही नेताहरू पनि घाइते भएका छन् ।
बन्दुकधारीले स्वचालित हतियार चलाएका थिए । उनको दलका नेताहरूले आक्रमण इमरानको हत्या प्रयास भएको बताएका छन् ।
प्रधानमन्त्री शेहबाज सरिफले घटनाको निन्दा गर्दै तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।
समाचार संस्थाले एएफपीले खानका सहयोगीलाई उद्धृत गर्दै सुरक्षाकर्मीको कारबाहीमा बन्दुक चलाउने व्यक्ति मारिएको उल्लेख गरेको छ ।
केही दिनअघि पाकिस्तानको निर्वाचन आयोगले खानलाई चुनाव लड्न प्रतिबन्ध लगाइदिएको थियो ।
गत अप्रिलमा बहुमत गुमाएपछि खानले संसद विघटन गरेर नयाँ चुनाव घोषणा गरेका थिए ।
सर्वोच्च अदालतले उनको निर्णय उल्ट्याइदिएपछि उनी प्रधानमन्त्री छोड्न बाध्य भएका थिए ।