चुनावले धानको मुल्य निर्धारणमा प्रभावित
Friday, November 4th, 2022, 7:51 am
Kalpristha
लक्ष्मी तिमिल्सेना
दशैं तिहार र छठ पर्व सकिने वित्तिकै यतिबेला बाँकेका किसानहरु धान बाली घरमा भित्रयाउन व्यस्त छन् । राजनितिक दल र तिनका कार्यकर्तालाई चुनावको रन्को लागेका बेला किसानहरुलाई भने भान बाली भित्र्याउने चटारो सुरु भएको हो ।
धान रोप्ने समयमा परेको खडेरी र बेमौसमी बर्षका कारण यस बर्ष बाँकेमा धान उत्पादन घट्ने निश्चित जस्तै भएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी जीवन कुमार केसीले बताए ।
‘स्थानीय तह गत रुपमा हेर्ने हो भने राप्ती सोनारी गाँउपालिकामा अन्य पालिका भन्दा धेरै धान उत्पादन हुने अनुमान गर्न सकिन्छ । यद्यपी तथ्याङ्क संकलनको काम भने भर्खरै सुरु भएको छ,’ कृषि ज्ञान केन्द्रका सुचना अधिकारी केसीले भने ।
सिंचाईको व्यवस्था नहुँदा नरैनापुर गाँउपालिकामा १५ प्रतिशत मात्रै रोपाई भएको कुरा उल्लेख गर्दै सुचना अधिकारी केसीले खडेरीका कारण यहाँको उत्पादन झनै घट्न सक्ने बताए । उत्पादनको विवरण संकलनका निम्ति कर्मचारी खटिरहेको उल्लेख गर्दै केसीले आगामी मंसिर १०–१५ गते सम्म यकिन तथ्याङ्क आईसक्ने बताए ।
१६ सय हेक्टर खेतियोग्य जमिनमा गतबर्ष प्रति हेक्टर ४.५ मेट्रिक टन धान उत्पादन भएको बाँकेमा यसवर्ष उत्पादन घट्ने आँकलन गरिएको छ । बाँकेमा बेमौसमी वर्षाका कारण गत बर्ष पनि अपेक्षित रुपमा धान उत्पादन हुन सकेको थिएन । पछिल्ला केहि बर्षहरुमा विभिन्न कारणले धान उत्पादनमा ह्रास आउँदै गएको छ ।
चुनावपछि धानको मुल्य तोकिने
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण धानको मुल्य निर्धारण प्रभावित हुने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले चुनावका कारण धानको मुल्य निर्धारण गर्न केहि ढिलाई हुने बताएको छ । यसअघिका वर्षहरुमा भदौ–असोजमै धानको मुल्य तोकिन्थ्यो । तर, संसदीय निर्वाचनका कारण यसबर्ष धानको मुल्य निर्धारण हुन सकेको छैन । जसका कारण धान संकलनको कार्यपनि निर्वाचन पश्चात नै हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जानकारी दिएको छ ।
गत बर्ष यस समयमा धान संकलन सुरु गरिसकेको खाद्य संस्थानले यसपटक मुल्यसमेत निर्धारण गर्न सकेको छैन । चुनावका कारण पनि मुल्य निर्धारण र संकलनको काम प्रभावित भएको संस्थानले जानकारी दिएको छ ।
गत बर्ष २ हजार ७ सय ५२ रुपैंया प्रति क्विन्टल मोटा धान र २ हजार ९ सय २ रुपैंया प्रति क्विन्टल मध्यम धान खरिद गरेको संस्थानले ११ सय २५.८० क्विन्टल मोटा र ११ सय ८५ क्विन्टल मध्यम धान खरिद गरेको थियो ।