राजनीतिक दलसँग संवाद : आचारसंहिता पालना गर्ने प्रतिवद्धता
Friday, November 4th, 2022, 4:34 pm
Kalpristha
जिल्लामा क्रियाशील राजनीतिक दलहरुले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेस्थित राजनीतिक दल तथा यूवा संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरुले मंसीर ४ गतेको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचार संहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
संवाद समूह बाँकेले नेपालगन्जमा राजनीतिक दल तथा यूवा संघ संगठनहरुसँग गरेको अन्तरक्रियात्मक संवाद कार्यक्रममा निर्वाचन आचार संहिता पूर्ण पालना गर्ने प्रतिवद्धता व्यक्त गरिएको हो । दलका प्रमुख एवं यूवा संघ संगठनका प्रतिनिधिहरुले निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्ने एकवद्धता प्रकट गरेका हुन् । मुख्य निर्वाचन अधिकृत, अधिकारकर्मी, संवादकर्ता लगायतको समेत सहभागिता रहेको कार्यक्रममा राजनीतिकर्मीहरुले आफना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित र मीतव्ययी बनाउँदै निर्वाचन द्वन्द्वरहित बनाउने वचनवद्धता गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले निर्वाचन आचारसंहितालाई पालना गर्नु बाहेकको विकल्प नभएको भन्दै निर्वाचन शान्तिपूर्ण बनाउनु दलहरुको प्रमुख दायित्व भएकोे पनि बताए । आचारसंहिता उल्लंघन कहीं कतै भएको पाइए ठाउँका ठाउँ कानूनी कारवाही गर्न कसैले रोक्न नसक्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
बाँके जिल्ला अदालतका न्यायधिश समेत रहनु भएका मुख्य निर्वाचन अधिकृत महराले आम सभा गर्न प्रशासनको अनीवार्य स्वीकृत लिन र भड्कीलो प्रचार प्रसार नगर्न आवश्यक सर्कुलर गरिदिन पनि सुझाव दिए ।
नेपाली काँग्रेस बाँकेका उप सभापति गोपाल प्रसाद अधिकारी, नेकपा माआवादी केन्द्रका कार्यालय सचिव अर्जुन कार्की, नेकपा एकिकृत समाजबादी पार्टीका लुम्विनी प्रदेश समिति सदस्य मो मौलाना अव्दुल जव्वार मञ्जरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष लक्ष्मीनारायण वर्मा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जगदिश ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति लक्ष्मी तिवारीलगायतले राजनीतिक दलका लागि बनाईएको आचार सहिंता कार्यान्वयन गर्न र गराउन आफु र आफ्नो पार्टी प्रतिबद्ध हुने बताए ।
कार्यक्रममा जिल्ला यूवा क्लव सञ्जालका सचिव राजन बर्मा, राष्ट्रिय यूवा संघ नेपाल लुम्विनी प्रदेश कमीटी अध्यक्ष खेमराज शर्मा, किशोरी क्लव सञ्जाल जिल्ला अध्यक्ष अनु रावत लगायतले पनि आचार संहिता पालनामा सामुहिक एकता र सहकार्यमा जोड दिएका थिए । समुहका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्येश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले प्रकाश पारेका थिए ।
निर्वाचनलाई मर्यादीत, भयरहीत र शान्तिपूर्ण बनाउन संवाद समूहले सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ । निर्वाचन आयोगले राजनीतिक दलका लागि ६० वुँदे निर्देशन समेत जारी गरेको छ ।