खेल विकासको निम्ति कांग्रेसलाई जिताउन पर्छः डा. महत
Friday, November 4th, 2022, 7:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १८ कात्तिक
नेपाली कांग्रेसले गठन गरेको खेलकुद क्षेत्र समन्वय प्रचार प्रसार समितिले आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ ।
शुक्रबार नेपालगन्जमा भएको खेलकुद क्षेत्रका अगुवा कार्यकतालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रचार प्रसार समिति संयोजक डा. प्रकाश शरण महतले सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेस खेलकुद समन्वय प्रचार प्रसार उपसमिति संयोजक कर्माछिरिङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन युवा परिचालन उप समितिको संयोजक एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझी, राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेस बाँकेका पुर्व सभापति युवराज शर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सुदिपनरसिंह राणा, प्रदेश सभा सदस्य उम्मेदवार एवम् ओलम्पियन सुरेन्द्र हमाल, नेपाली कांग्रेस बाँके उपसभापित गोपाल प्रसाद अधिकारी, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिपजंग शाहले आफनो भनाई राखेका थिए ।
कार्यक्रममा बोल्दैं डा. महतले देशको समृद्धि र खेलक्षेत्रका दिर्घकालिन विकासका लागि नेपाली कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए ।
उनले भने,‘हामीले खेलकुद क्षेत्रमा सुधार गर्न, यस क्षेत्रका समस्यालाई नजिकबाट बुझने प्रयास गरेका छौं । कांग्रेसले अब खेलकुदलाई प्राथमिकता दिन्छ ।’ नेपाली कांग्रेसले खेलाडीको भावनालाई आफनो चुनावी एजेन्डमा समेटनका लागि नेपाली क्रिकेट टिमका पुर्व कप्तान विनोद दासलाई मस्योदा निर्माण समितिका राखेको थियो ।
नेपाली कांग्रेस खेलकुद समन्वय प्रचार प्रसार उप समिति संयोजक एवम् अखिल नेपाल फुटबल संघका निर्वतमान अध्यक्ष शेर्पाले खेलकुदलाई वडातहसम्म लग्नको लागि स्थायी प्रशिक्षकको व्यवस्था गरिनु पर्ने बताए । उनले भने,‘खेलकुद क्षेत्रले देशको विकासमा प्रत्यक्ष रुपमा योगदान गरेको हुन्छ ।
स्वस्थ नागरिक उत्पादन गर्नको लागि खेलकुद अति आवश्यक छ । खेलकुको विकासका लागि वडा तहमा खेलकुद प्रशिक्षक र श्रेणीअनुसार प्रशिक्षकहरुको आवश्यकता पर्छ ।’
बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष शाहले खेलकुद क्षेत्रका समस्या र चुनौतिका बारेमा बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस निकट खेलकर्मी, नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।