आठौं धारा नेपालगन्ज म्याराथनमा प्याब्सनको साथ
Wednesday, November 9th, 2022, 9:35 pm
Kalpristha
नेपालगन्ज : बाँके जिल्लामा सञ्चालित नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन)सँग आवद्ध विद्यालयहरुले आठौं धारा नेपालगन्ज म्याराथनलाई भव्य बनाउन सबैले सहयोग गर्ने बताएका छन् । शिक्षा विकास तथा समन्वय इकाई(बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्याब्सनको नेतृत्व पंक्तिले प्रतिबद्धता जनाएको हो । प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बाँकेका तीनवटै निर्वाचन क्षेत्रलाई जोड्ने कार्य गरेको हुँदा नेपालगन्ज म्याराथन सिंगो बाँके जिल्लाकै सम्पत्ति रहेको बताए ।
कार्यक्रममा प्याब्सन नेपालगन्ज उपमहागरपालिका समितिका अध्यक्ष विकास बज्राचार्यले नेपालगन्ज म्याराथन सबैको गौरवको बिषय भएको बताउँदै यसलाई सफल पार्न पालिका अन्तर्गतका विद्यालयले कुनै कसर बाँकी नराख्ने बताए । प्याब्सनका सल्लाहकार डा. राजेशकेसर खनालले निकै दुख गरेर हुर्काएको नेपालगन्ज म्याराथनलाई थप उचाइमा पुराउन सम्पुर्णको जिम्मेवारी भइसकेको चर्चा गरे ।
कार्यक्रमका अन्य सहभागिले विद्यार्थीहरुको सर्वागीण विकासका लागि अतिरिक्त क्रियाकलापहरुमा उत्तिकै जोड दिनुपर्ने धारणा राखेका थिए । आयोजकले नेपालगन्ज म्याराथनले गरेको प्रगति र यसको महत्वका बारेमा विचार राखेका थिए । आयोजकको तर्फबाट रजिस्ट्रेसन हेड कपिल थापाले इकाई प्रमुख पौडेललाई टिसर्ट हस्तान्तरण समेत गरे ।
आठौं धारा नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिवार हुनेछ । हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।
यसबर्ष बिभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको छ । कर्पोरेट रनतर्फ महिलालाई यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।
नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि संसारका प्रतिष्ठित म्याराथनमा भाग लिन नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहने आयोजकले जनाएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका लगायत जिल्लाका स्थानीय तहहरु, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् ।