धानको मुल्यमा २ सय २६ रुपैयाँ वृद्धि
Thursday, November 10th, 2022, 12:32 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज : यस वर्ष किसानले बिक्री गर्ने धानको मुल्यमा वृद्धि भएको छ । सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गर्दै प्रति क्विन्टलमा २ सय २६ रुपैयाँ बढाएर धानको समर्थन मुल्य निर्धारण गरेको छ ।
आर्थिक वर्ष २०७९-८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको कृषि मन्त्रालयले जनाएको छ । जुन गतवर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल २ सय १५ रुपैयाँ र मध्यम धानमा २ सय २६ रुपैयाँ बढी हो । आर्थिक वर्ष २०७८-७९ मा मोटा धानको सर्मथन प्रति क्विन्टल २ हजार ७ सय ५२ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ९ सय २ रुपैयाँ थियो । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने मन्त्रालयले जनाएको छ ।
धान खरिदमा ढिलाई
सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेपनि समर्थन मुल्य निर्धारण गर्न नसक्दा यस वर्ष धान खरिद प्रक्रियामा ढिलाई भएको छ । कृषि मन्त्रालयले धान खरिद गर्नका लागि बजेट नछुट्याएको र हालसम्म न्युनतम मुल्यमात्रै तोकेका कारणपनि धान खरिद प्रक्रियामा ढिलाई भएको खाद्य संस्थान नेपालगन्जले जनाएको छ ।
धानको मुल्य निर्धारण प्रभावित हुनुमा समर्थन मुल्य निर्धारण हुन नसक्नु संगै आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अर्काे प्रमुख कारण रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका कार्यालय प्रमुख राम शरण लामिछानेले बताए ।
चुनावका कारण धानको मुल्य निर्धारण गर्न केहि ढिलाई हुने बताउँदै उनले भने, ‘हामीलाई परिपत्र जारी नभएसम्म यताबाट केहि हुदैन । धान खरिदको प्रक्रिया सुरु गर्न मात्रै पनि मन्त्रीपरिषदको निर्णयबाट गर्नु पर्छ । निर्वाचन पछि मात्रै धानको मुल्य निर्धारण हुन्छ । जसले गर्दा यसपटक संकलन पनि ढिलागरी हुनसक्छ । यस विषयमा हामीले भनेरमात्रै नहुने रहेछ ।’
संस्थान घाटामा चलिरहेको बताउदै लामिछानेले यस पटक सरकारले समर्थन मुल्य पनि धेरै बढाएर तोकेकाले संस्थानलाई अंझ समस्या पारेको बताए । करिब ४० करोड जति रकम मन्त्रालयबाट संस्थानले लिन बाँकी रहेको भन्दै उक्त रकम नआएसम्म संस्थानले धान खरिद गर्न नसक्ने उनले कालपृष्ठ दैनिकलाई बताए । ‘बजारमुल्य भन्दा धेरै सर्मथन मुल्य तोकेको कारण बजार र हाम्रो मुल्यको अन्तर धेरै भयो । मन्त्रालयबाट धेरै पैसा लिन बाँकी छ । सरकारले धान खरिद गर भन्छ तर बजार मुल्यभन्दा धेरै फरक मुल्य तोकिदिंदा संस्थानलाई अफ्ठ्यारो परेको छ,’– लामिछानेले भने । ‘आम निर्वाचन, कर्मचारीको सिमितता र रकम अभावका कारण धान खरिद प्रक्रिया अघि बढेको छैन । बाँकी रकम उपलव्ध नभएसम्म उधारोमै धान किन्नुपर्ने अवस्था छ ।’
यसअघिका वर्षहरुमा भदौ–असोजमै धानको मुल्य तोकिन्थ्यो । तर, यसबर्ष धानको मुल्य अंझै निर्धारण हुन सकेको छैन । जसका कारण धान संकलनको कार्यपनि निर्वाचन पश्चात नै हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख लामिछानेले बताए ।
गत बर्ष २ हजार ७ सय ५२ रुपैंया प्रति क्विन्टल मोटा धान र २ हजार ९ सय २ रुपैंया प्रति क्विन्टल मध्यम धान खरिद गरेको संस्थानले ११ सय २५.८० क्विन्टल मोटा र ११ सय ८५ क्विन्टल मध्यम धान खरिद गरेको थियो ।