वन्यजन्तु समस्या समाधान गरिदिन मतदाताको अपिल
Thursday, November 10th, 2022, 6:32 pm
Kalpristha
बाँके निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीले वन्यजन्तु समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन क्षेत्र नं १ को मध्यवर्तीक्षेत्रमा मत माग्न पुगेका उम्मेदवारलाई स्थानीयवासीले वन्यजन्तु समस्याका कारण आफूहरूको जीउधन र खेतीबाली जोखिममा परेको गुनासो गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका–८ बालापुरका बासिन्दा वसन्त वलीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे । उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे । राप्ती सोनारी– १ कुसुमका स्थानीय शिक्षक भुवन खुनाले निर्वाचनका बेला नेताले आश्वासन दिए पनि जनताको काम नभएको गुनासो गरे ।
निर्वाचन प्रचारका क्रममा गाउँ टोलमा आउने बाँके क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार सबैसँग वन्यजन्तु समस्या समाधानका लागि वडा नं ९ का वडावासीले सामूहिक प्रतिबद्धता गरेको वडाध्यक्ष सोहनलाल थारुले बताए ।
बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित राप्ती सोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित छन् । वडा नं ९ को महादेवा, बुचापुर उडयन, पश्चिम–पूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरीलगायतका टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारुको भनाइ छ ।
राप्ती सोनारीको वडा नं १ का लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अति प्रभावित रहेका छन् ।
वन्यजन्तु समस्या प्रमुख समस्याका रुपमा रहेको वडाध्यक्ष यमबहादुर खड्काले बताए । भोट माग्दै हिँड्ने उम्मेदवारलाई निकुञ्जको मध्यवर्ती क्षेत्रका मतदाताले भने वन्यजन्तुका समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।