नेता, मन्त्री देखि लिएर पत्रकारले दबाब दिन्छन भन्सार अधिकृतलाई
Friday, November 11th, 2022, 1:17 pm
Kalpristha
राजस्व संकलनमा कडाई गरेपनि भन्सार कर्मचारी बाध्य भएर आफनो निर्णयबाट पछि हटनु पर्ने अवस्था छ भन्सार कर्मचारीहरुका माझ । कर छलेर भारतबाट सामान ल्याउने व्यक्तिलाई कडाई गरिएपनि त्यसलाई छुटाउन निकै दबाब थेग्नु पर्छ भन्सार अधिकारीलाई ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज भन्सार नेपालको महत्वपुर्ण भन्सार नाकामा पर्छ । भारतीय सहरसँग जोडिएको नेपालगन्ज भन्सारले देशको आर्थिक संकलनमा ठुलै योगदान गर्दै आएका छ । पछिल्लो तिन महिनामा नेपालगन्ज भन्सारले ४ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रकम संकलन गरेको थियो । यसले पनि नेपालगन्ज भन्सारको आर्थिक विकासमा कति योगदान छ भन्ने पुष्टि गरेको छ । तर नेपालगन्ज भन्सारमा राजश्व संकलन गर्न भने त्यति सहज छैन ।
राजस्व संकलनमा कडाई गरेपनि भन्सार कर्मचारी बाध्य भएर आफनो निर्णयबाट पछि हटनु पर्ने अवस्था छ भन्सार कर्मचारीहरुका माझ । कर छलेर भारतबाट सामान ल्याउने व्यक्तिलाई कडाई गरिएपनि त्यसलाई छुटाउन निकै दबाब थेग्नु पर्छ भन्सार अधिकारीलाई । कहिलेकाँकी त एउटा व्यक्तिलाई छुटाउन ८ जना सम्म व्यक्तिको फोन आउने गरेको बताउँछ नेपालगन्ज भन्सारका अधिकारी । जसका कारण नचिनेको व्यक्तिको फोन उठान पनि अप्ठयारो लाग्ने गरेको बताउँछन भन्सार कार्यालय नेपालगन्जका भन्सार अधिकृत नर बहादुर थापा । उनले नचिनेको नम्बर त झन् मुस्किलले उठाउछन् ।
उनलाई दैनिक जसो ८–१० वटा फोन त ‘म फलानो मन्त्री जि को मान्छे हो हजुर यस पटकलाई सहयोग गरिदिन पर्योे’ भनेर मात्रै आउँछन् । कहिलेकाँही त उनलाई मन्त्रीहरुकै फोन पनि आउँछ । तर भन्सार अधिकृतले सामान छुटाउन दबाब दिने मन्त्री र व्यक्तिको नाम भने भन्न चाहेनन् । भन्सार अधिकृत थापालाई नेता, मन्त्रीको मात्र फोन आउँदैन, पत्रकार र सुरक्षा अधिकारीको फोन जान्छ भन्सार छलेर ल्याएका सामान छोडिदिनका लागि ।
‘फलानो मान्छेलाई एकपटक मात्रै सहयोग गरिदिनु पर्यो । कसरी हुन्छ मिलाउनुस भन्छन् । अन्य व्यक्तिलाई बरु यसरी मिल्दैन यसको प्रक्रिया यस्तो छ भनेर बुझाएपछि बुझ्छन् तर, जो महत्वपुर्ण र ठुला पदमा बसेका मन्त्री र सचिव जस्ता व्यक्तिहरुले कुरा नबुझिदिंदा हामीलाई काम गर्न साह्रै अफ्ठ्यारो हुन्छ ’– भन्सार अधिकृत थापाले भने । ‘गस्ती नजाँउ कामै गरेन भन्छन् । गस्ती गएर रंगेहात पक्रेको सामान पनि छुटाउन दिनमा १० पटक म फलानो भन्दै फोन आउँछ । हेर्नोस त,’– उनले थपे ।
थुप्रै पटक उच्च पदस्थ व्यक्तिहरुलाई अत्ति भएपछि लेखेर दिनुहोस म सामान छोडिदिन्छु सम्म भनेको भन्सार अधिकृत थापा बताउँछन । उनले भने,‘ फोनमा दबाब दिनेहरु लेखेर दिन नसक्ने अनि राजस्व छली गरेर ल्याएको देखी कसरी छोड्न सक्छु ।’
नेपालका प्रमुख सिमा नाकामध्ये नेपालगञ्ज स्थित जमुनाहा सिमानाका हो । भारतसंग जोडिएको ६५ किलोमिटर खुला सिमाना बाँके जिल्लामा पर्छ ।
जसकारण यो संवेदनशिल नाका पनि हो । यहाँबाट थुप्रै सामानहरु अवैध रुपमा भित्रिने गरेको जनगुनासो पनि बेला बेलामा आईरहन्छ । केहि समय यता भन्सारले सुरक्षा निकायसंगको सहकार्यमा सिमानाकामा गस्तीहरु पनि बढाएको छ ।